काठमाडौं । आर्थिक संकटको सामना गरिरहेको श्रीलंकामा सर्वसाधारणले बढीमात्रामा प्रयोग गर्ने औषधिको मूल्यमा उच्च वृद्धि भएको छ। ६ सातायता औषधिको मूल्यमा भारी वृद्धि भएको यो दोस्रो पटक हो।
एन्टिबायोटिक, केही निश्चित पेनकिलरहरु तथा मुटुका औषधिको मूल्यमा ४० प्रतिशतले वृद्धि भएको हो। श्रीलंकालीहरुका लागि औषधि औषधिको ‘कोर्स’ घटाउने या औषधिको आपूर्तिका लागि विदेशकै भर पर्नुको विकल्प छैन।
सरकारले भने औषधिहरुको मूल्यमा वृद्धि गर्नुको विकल्प नभएको बताएको छ। सरकारले खाद्यान्न र औषधिहरुसहित केही आवश्यक वस्तुको आयातमा प्रतिबन्ध लगाएको छ। ‘यो सरकारले स्वेच्छाले गरेको निर्णय होइन,’ श्रीलंकाका सञ्चारमन्त्री नालाका गेदाहेवाले भने।
स्थानीय मुद्राको अवमूल्यन र अधिकांश औषधि निजी क्षेत्रबाट आयात हुने भएकाले सरकारसँग विकल्प नभएको उनले बताए। मूल्य बृद्धि नगरे गम्भीर अभाव हुन सक्ने उनले बताए। औषधि अभावले तोकिएभन्दा कम औषधि किन्न बाध्य भएको भन्दै स्वास्थ्यकर्मी चिन्तित छन्।
‘अवस्था निकै खराब छ। कहिलेकाहीँ एन्टिबायोटिकहरू पाँच दिनको लागि निर्धारित गरिन्छ। तर, अहिले मेरा ग्राहकले दुई-तीन दिनको लागि मात्र एन्टिबायोटिक मागिरहेका छन्’, कोलम्बोमा फार्मेसी चलाउने रुचिरा हेवावासमले भनिन्।
उच्च मूल्य तिर्न इच्छुक र सक्षम भएकाहरू लागि पनि केही औषधिहरूको आपूर्ति कम भएकोमा केही चिन्तित छन्। मध्य रत्नपुरा जिल्लामा बस्ने भेलुपिल्लाई विग्नेश्वरन एक वर्षदेखि गम्भीर न्यूरोलोजिकल डिसअर्डरबाट पीडित आफ्नी बहिनीका लागि औषधिको ट्याब्लेट खोजिरहेका छन्। ‘हामीले धेरै फार्मेसीहरू खोज्यौं तर औषधिहरू उपलब्ध छैनन्। डाक्टरहरूले हामीलाई फरक औषधि नखान सल्लाह दिएका छन्। हामी हाम्रा साथीहरूमार्फत् भारतबाट औषधि ल्याउँदैछौं,’ उनले भने ।