काठमाडौं । भारतमा केही सातादेखी कोरोना भाइरसको संक्रमणदर तीव्र रुपमा बढिरहेको छ । यद्यपि यसलाई नै आधार मानेर कोरोनाको चौथो लहर आयो भन्ने स्थिती भने नरहेको भारतीय विज्ञहरुले दाबी गरेका छन्।
कतिपयले भारतमा चौथो लहरको सुरु भइसकेको बताइरहँदा उनीहरुले यस्तो दाबी गरेका हुन् । भारतीय चिकित्सा अनुसन्धान परिषद् ९आइसीएमआर०ले पछिल्ला तथ्यांकका आधारमा नै चौथो लहर भन्न नमिल्ने बताएको छ।
पछिल्लो २४ घण्टामा भारतमा नयाँ संक्रमितको संख्या ३ हजार १ सय ५७ छ, जुन अघिल्लो दिनको तुलनामा ५ प्रतिशतले कम हो। केही समयदेखि संक्रमण बढिरहे पनि यो साता घटेको देखिएको छ।
आइसीएमआरका अतिरिक्त महानिर्देशक समीरन पाण्डाले भारतमा देखिएको संक्रमणलाइ चौथो लहर मान्न नसकिने बताए। हालै देखिएको वृद्धि स्थानीय र जिल्लास्तरमा मात्र भएकाले यसले आगामी दिनमा चौथो लहरको रुप लिन्छ भनेर भन्नु गलत हुने उनको भनाइ छ।
पाण्डाले चौथो लहर आउन नसक्ने तर्कलाई पुष्टि गर्न केही तथ्य अघि सारेका छन्। जसअनुसार केही स्थानीय स्तरमा मात्र संक्रमणमा वृद्धि देखिएको छ, जुन कम परीक्षणका कारण हो। अर्को, अहिले देखिएको वृद्धि एक खालको झड्कामात्र हो, यसबाट मात्रै पूरै राज्य कोभिडको चपेटामा परेको छ भन्न सकिँदैन। तेस्रो तथ्य भनेको भारतभर अस्पतालमा भर्ना हुने बिरामीको संख्यामा कुनै वृद्धि देखिएको छैन। र, अन्तिम तथा महत्वपूर्ण तथ्य भनेको हालसम्म कुनै नयाँ भेरियन्ट फेला परेको छैन। यहीकारण चौथो लहर आउँछ भनेर भन्न नसकिने पाण्डाको भनाइ छ।
यसका अलावा पाण्डाले भारतका विभिन्न स्थानमा बढेको पोजिटभ दरको कुरा पनि गरेका छन्, जुन कहिलेकाहीँ कम परीक्षण दरका कारण पनि बढ्ने हुन्छ।
इण्डियन मेडिकल एशोसियसनका अनुसार बुस्टर डोज लगाएका ७० प्रतिशतलाई कोरोनाको तेस्रो लहरका क्रममा संक्रमण नभएको पाइएको छ। यसैले बुस्टर डोज लगाउन पनि एशोसियसनले सुझाव दिएको छ। डाइबिटिज भएका बिरामीहरु कोरोना संक्रमणको उच्च खतरामा पर्ने पनि विज्ञको भनाइ छ।