काठमाडौं । भारतमा कोरोनाका कारण मृत्यु भएकाहरुको तथ्यांक गलत निकालेको भन्दै भारतले विश्व स्वास्थ्य संगठनको उक्त तथ्यांकप्रति आपती जनाएको छ ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले भारतमा कोरोनाका कारण ४७ लाख मानिसको मृत्यु भएको भन्दै तथ्यांक सार्वजनिक गरेको थियो । उक्त संख्या वास्तविक रुपमा मृत्यु हुनेहरुको भन्दा १० प्रतिशत बढी भएको भारतले दाबी गरेको छ ।
ब्लुएचओले दाबी गरेको भारतको मृतक संख्या विश्वव्यापी मृत्युको संख्याको एक तिहाइ हो। तर भारत सरकारले डब्लुएचओको मूल्याङ्कन विधिमाथि प्रश्न उठाएको छ। उसले प्रयोग गरिएको मोडलको वैधतामाथि पनि प्रश्न उठाइएको छ।
‘यो प्रक्रिया, पद्धति र नतिजाहरूमा भारतको आपत्तिको बाबजुद डब्लुएचओले थप मृत्युदरको अनुमान जारी गरेको छ,’ भारत सरकारले जारी गरेको विज्ञप्तिमा भनिएको छ। यस विषयमा अन्य अध्ययनहरूमा पनि भारतको बारेमा यस्तै मूल्याङ्कन गरिएको छ।
भारत सरकारको आधिकारिक तथ्यांकअनुसार कोरोनाबाट मृत्यु हुनेको संख्या ५ लाख २३ हजार ९७५ छ। भारतमा अहिले दैनिक ३ हजारको हाराहारीमा संक्रमण देखिएको छ। भारतमा सबैभन्दा बढी मृत्यु दोस्रो लहरको समयमा भएको थियो, डेल्टा भेरियन्टका कारण ठूलो संख्यामा मानिसहरूको मृत्यु भएको थियो।
डब्लुएचओले यस मूल्याङ्कनको लागि ‘अतिरिक्त मृत्यु’ विधि प्रयोग गरेको छ। यसको अर्थ महामारी हुनुअघि कुनै क्षेत्रको मृत्युदर कति थियो भन्ने बुझिन्छ। अर्थात् त्यस क्षेत्रमा सामान्यतया कति मानिसको मृत्यु हुन्छ र महामारीपछि त्यस क्षेत्रमा कति मानिसको मृत्यु भयो भन्ने तरिकाले हिसाब गरिन्छ।
डब्लुएचओको यो तथ्यांकमा सिधा हिसाबले कोभिडका कारण भएको नभई प्रभावका कारण भएको मृत्यु, महामारीका बेला उपचार नपाएर भएको मृत्यु पनि समावेश गरिएका छन्। कोरोना प्रभावित क्षेत्रमा तथ्यांकमा देखिएको कमजोरी र संकटको सुरुवातमा कम परीक्षण पनि जिम्मेवार मानिएको छ ।