काठमाडौं । मंकीपक्स भाइरस संक्रमितको संख्या ७ पुगेको छ । अमेरिकामा मात्रै २१ जनामा मंकीपक्स संक्रमण देखिएको रोग नियन्त्रण निकाय (सीडीसी) ले जनाएको छ। यो संख्या एकसातामा दोब्बर भएको हो।तर कुनै पनि संक्रमितको अवस्था गम्भीर नरहेको र सबै निको भएका वा हुने अवस्थामा रहेको जनाइएको छ। क्यानडामा समेत संक्रमितको संख्या ७७ पुगेको छ।
यो संक्रमणबाट जोगिनका लागि सीडीसी र विश्व स्वास्थ्य संगठनले विभिन्न ८ वटा सुझाव दिएका छन्ः
१–भर्खरै भाइरस पत्ता लागेको व्यक्ति वा संक्रमित भएका व्यक्तिहरूको सम्पर्कमा आउनुहुँदैन।
२–त्यस्तै खालका लक्षण भएका कसैसँग नजिकको सम्पर्कमा भएको खण्डमा मास्क लगाउनुपर्छ।
३–यौन सम्पर्कका माध्यमबाट पनि सरेको पाइएकाले कण्डम प्रयोग गर्न र यौन पार्टनरहरु परिवर्तन गरेको खण्डमा लक्षणहरूमा ध्यान दिनुपर्छ।
४–भाइरस बोक्न सक्ने जनावरहरू–बिरामी वा मरेका जनावर, बाँदर, मुसाजस्ता संक्रमणको इतिहास भएकाहरुको सम्पर्कमा आउनुहुँदैन।
५–संक्रमित वा संदिग्ध संक्रमित जनावर वा मानिसको सम्पर्कमा आएपछि साबुन र पानीले हात धुनुपर्छ वा अल्कोहलमा आधारित ह्यान्ड सेनिटाइजर प्रयोग गर्नुपर्छ।
६–मंकीपक्स संक्रमण पुष्टि भएका वा शंकास्पद बिरामीहरूको हेरचाह गर्दा व्यक्तिगत सुरक्षा उपकरण पीपीई प्रयोग गर्नुपर्छ।
७–राम्रोसँग पकाएको मासुमात्र खानुपर्छ।
८–मंकीपक्स सतह र सामग्रीमार्फत् पनि सर्न सक्ने भएकाले विरामी व्यक्ति वा जनावरको सम्पर्कमा रहेका सामग्रीहरू छुनुहुन्न।
यदि मंकीपक्स संक्रमण भएको आशंका छ भने आफूलाई अरूसँगको सम्पर्कबाट अलग्गै आइसोलेसनमा राख्नुपर्छ र तुरुन्तै चिकित्सकको सल्लाह लिनुपर्छ ।
यसका प्रारम्भिक लक्षणहरूमा ज्वरो, टाउको दुख्ने, मांसपेशी दुख्ने, सुन्निने र ढाड दुख्ने हुन्छ। अनुहार, हात, खुट्टा, आँखा, मुख वा जननांगमा एकदेखि पाँच दिनभित्र दाना र घाउ देखा पर्छन्। उठेका बम्पहरू पछि फोका बन्छन् भने फुट्नु अगाडि पिपले भरिन सक्छन् ।
भाइरसका धेरै लक्षण अन्य रोगहरूसँग समेत मिल्दाजुल्दा हुन सक्छन् । ठेउला, हर्पेस वा सिफिलिसजस्ता रोगसँग लक्षणहरु मिल्दाजुल्दा हुनसक्छन् । त्यसैले मंकीपक्सको संक्रमण हो होइन भन्ने कुरा परीक्षणबाट पुष्टि गर्नुपर्छ।
यो रोग सामान्यतया हल्का हुन्छ र धेरैजसो मानिसहरू दुईदेखि चार हप्ताभित्र निको हुन्छन्।