काठमाडौं । सरकारले कोरोनाविरुद्धको खोप अभियान प्रभावकारी बनाउन नसक्दा साढे १७ करोड मूल्य पर्ने दुई लाख डोज खोप खेर गएको छ ।
स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका अनुसार शनिबार दुई लाख डोज कोभिसिल्डको म्याद सकिएको हो । यो विषयमा आज नयाँ पत्रिका दैनिकले खबर प्रकाशित गरेको छ ।
विभागका अनुसार १७ करोड ६४ लाख मूल्यको खोप खेर गएको हो । महाशाखा निर्देशक डा। रुद्र मरासिनीले खेर गएको खोपको मात्रा दुई लाखभन्दा बढी नै पनि हुन सक्ने बताए ।
‘शनिबारदेखि म्याद सकिएर कम्तीमा दुई लाख मात्रा कोभिसिल्ड खेर गएको हाम्रो अनुमान छ । योभन्दा बढी नै पनि हुन सक्छ,’ उनले भने, ‘उक्त खोप केन्द्रीय भण्डारण स्टोरमा खेर गएको होइन, जिल्ला–जिल्लामा वितरण भएको खोप हो । विभागले देशभरबाट विवरण माग गरेको छ ।’
विभागमा एक लाख ६४ हजार एक सय ७० डोज खेर गएको तथ्यांक आइसकेको छ भने बाँकीको आधिकारिक तथ्यांक संकलन भइरहेको छ ।
स्वास्थ्य सेवा विभागका फार्मेसी अधिकृत बडेबाबु थापाले खोप कति बाँकी छ र कतिको म्याद सकियो भनेर अन्तिम विवरण संकलनको काम भइरहेको बताए ।
म्याद सकिएर खेर गएको खोप विभिन्न समयमा दातृराष्ट्रबाट अनुदानमा आएको थियो । तर, स्वास्थ्य मन्त्रालयका अनुसार सम्बन्धित देशले खरिद गरेर अनुदानमा दिएकाले ती देशले हरेक वर्ष नेपाललाई गर्ने सहयोगमा उक्त रकम जोड्ने गर्छन् ।
सरकारले तेस्रो डोज लगाउनसमेत अनुरोध गरे पनि खोपप्रति उत्साहजनक आकर्षण देखिएको छैन । विगतमा दैनिक पाँच लाखसम्मले खोप लगाएकामा अहिले ५० हजारदेखि एक लाखसम्मले मात्रै लगाउने गरेका छन् ।
विभागका अनुसार अब केन्द्रमा कोभिसिल्ड खोप छैन । तर, भएका अन्य खोपको म्याद भने धेरै रहेको स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाअन्तर्गत खरिद शाखा प्रमुख डा। सुरेन्द्र चौरासियाले बताए ।
गत चैतमा काठमाडौं स्वास्थ्य कार्यालयमै मोडर्नाको तीन हजार डोज खोप बिग्रिएको थियो । आवश्यक तापक्रम मिलाइएको भण्डारणबाट निकालेर निश्चित अवधिभित्र प्रयोग गर्न नसक्दा उक्त खोप खेर गएको थियो ।
हालसम्म खरिद र अनुदानको गरी पाँच करोड ८८ लाख ९१ हजार ९ सय ७० मात्रा खोप प्राप्त भएको छ । यसमध्ये चार करोड ९३ लाख ६६ हजार पाँच सय एक मात्रा प्रयोगमा आएको छ । हाल ७१ लाख ७८ हजार ८ सय १८ डोज बाँकी छ ।
यसले २३ लाख ४६ हजार ६ सय ५१ मात्रा खोप प्रयोग गर्ने क्रममा र प्रयोग गर्न नसकेर खेर गएको हिसाब आउँछ । तथ्यांकअनुसार हाल भेरोसेल ४४ लाख ७ सय ५६, जोनसन एक लाख २६ हजार १ सय ३०, फाइजर ६ लाख ९२ हजार ५ सय २ र फाइजर पेडियाट्रिक १८ लाख ९९ हजार ४ सय ३० मात्रा बाँकी छ ।