एजेन्सी । मंकीपक्स भाइरस ७० भन्दा बढी देशमा फैलिइसकेको छ। कोरोना भाइरसपछि यसले विश्वभर महामारीको रुप लिनसक्ने आशंका व्यक्त गरिँदैछ। यहीबीच अनुसन्धानकर्ताहरु यसको उपचार र परीक्षणमाथि अनुसन्धान गरिरहेका छन्।
हालै ल्यान्सेट जर्नलमा प्रकाशित एक रिपोर्टअनुसार मंकीपक्स भाइरस रगत तथा घाँटीको स्वाब परीक्षणबाट पत्ता लगाउन सक्ने उल्लेख छ। यस्तै, यो भाइरसमा एन्टिभाइरल औषधिले पनि काम गर्नसक्ने जनाइएको छ।
दि ल्यान्सेट इन्फेक्सियस डिजिज जर्नलमा मंगलबार प्रकाशित अध्ययनमा उल्लेख गरिएअनुसार अफ्रिकाबाहिरका अस्पतालमा देखिएका संक्रमणबारे अध्ययन गरिएको थियो। जसमा संक्रमितको उपचारका लागि दुई एन्टिभाइरल औषधिहरु ब्रिनसीडोफोभिर र टोकोभिरिम्याटको पहिलो ‘अफ लेभल’ उपयोग गर्दा बिरामीमा देखिएका प्रतिक्रियाबारे पनि उल्लेख गरिएको छ।
अनुसन्धानअनुसार मंकीपक्स भाइरसको संक्रमण नियन्त्रण र उपचार रणनीति अहिलेसम्म तय भएको छैन।
के हुन् लक्षण ?
पहिलोपटक सन् १९५८ मा पत्ता लगाइएको यो रोग एक खालको जुनोसिस अर्थात् जनावरबाट सर्ने भाइरसका कारण हुने संक्रमण हो। यो अफ्रिकाका जंगली जनावरमार्फत् मानिसमा सरेको थियो।
कुनै संक्रमित जनावरले टोक्दा, उसको रगत या शरीरको तरल पदार्थलाई छुँदा या संक्रमित जनावरको मासु खाँदा यो संक्रमण हुने बताइएको छ। सामान्य यो रोगमा ज्वरो, शरीरमा डाबरहरु देखिने, लिम्फ नोड्स सुन्निने, टाउको दुख्ने, थकावट हुनेजस्ता लक्षण देखा पर्छन्।
यद्यपि संक्रमित भएको १४ देखि २१ दिनमा यो आफैं ठीक हुने बताइन्छ। तर घाउ चिलाउने वा दुख्ने भने भइरहन सक्छ। यो भाइरस संक्रमितसंँगको सम्पर्कबाट घाउ, श्वास तथा आँखा, नाक र मुखमार्फत् शरीरमा प्रवेश गर्नसक्छ।
सन् २०१७ को सेम्टेम्बरदेखि २०२२ को अप्रिलसम्म पश्चिमी अफ्रिकी मुलुकमा ५५८ संदिग्ध बिरामी देखिएका थिए। जसमा २४१ जनामा संक्रमण पुष्टि भएको थियो भने ८ जनाको मृत्यु भएको थियो।