एजेन्सी । धेरै समय सुत्ने मानिसमा मुटु रोग तथा स्ट्रोकको जोखिम बढी हुने विभिन्न अध्ययनले देखाएको छ । राष्ट्रिय स्वास्थ्य र पोषण परीक्षा सर्वेक्षण (एनएएचएनइएस) का अन्वेषकहरूले दुवै छोटो समय र लामो समयको निन्द्रालाई कोरोनरी हृदय रोग र स्ट्रोकको उच्च जोखिमसँग जोडेका छन् ।
अध्ययनका अनुसार हरेक रात आठ घण्टाभन्दा बढी निदाउने मानिसहरूमा एनजाइना (कम रक्त प्रवाहको कारण छातीमा दुखाई) हुने सम्भावना दुई गुणा बढी हुने र कोरोनरी हृदय रोगको जोखिम १० प्रतिशत बढी हुन्छ ।
७१ हजारभन्दा बढी मध्यम उमेरका महिलाहरू समावेश गरिएको नर्सहरूको स्वास्थ्य अध्ययनबाट गरेको डेटाको विश्लेषणमा निन्द्राको समय र महिलाको हृदय स्वास्थ्यको बीच पनि सम्बन्ध पत्ता लागेको छ ।
सामान्य आठ घण्टाको निन्द्राको तुलनामा, प्रतिरात नौदेखि ११ घण्टा सुत्ने महिलाहरूलाई कोरोनरी हृदय रोगको सम्भावना ३८ प्रतिशत बढी हुन्छ । त्यस्तै, एनएएचएनइएसका अनुसार ६ देखि आठ घण्टासम्म सुत्ने मानिसहरूको तुलनामा आठ घण्टाभन्दा बढी सुत्ने मानिसमा स्ट्रोकको जोखिम ५० प्रतिशतभन्दा बढी थियो ।
आठ घण्टाभन्दा बढी निदाउने र दिनमा पनि निन्द्रा लाग्ने वा झपझप हुने मानिसहरूमा अन्यको तुलनामा स्ट्रोको जोखिम ९० प्रतिशत बढी भएको अध्ययनले देखाएको हो । धेरै सुत्ने मानिसमा मस्तिस्कको कार्यमा बाधा पुग्ने, स्मरण शक्ति कमजोर हुने, डिप्रेसन, अल्जाइमर तथा डिमेन्सियाको जोखिम बढ्ने, थकान तथा दुखाइ बढ्ने, रोग प्रतोरोधात्मक क्षमता कमजोर हुने, प्रजनन क्षमता कमजोर हुने, मोटोपना, मधुमेहलगायतका दीर्घकालीन रोगको जोखिम बढ्नुका सात जुनसुकै कारणले हुनसक्ने मृत्युको जोखिम पनि बढी हुन्छ ।