काठमाडौं । काठमाडौं उपत्यकामा हालसम्म साढे ३ दर्जनमा हैजा पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४२ जनामा देखिएको हो ।
मन्त्रालयका अनुसार ताहाचल, टेकु र त्रिपुरेश्वरमा एक–एक जनामा संक्रमण पुष्टि भएको छ । हाल तीन जनाको उपचार भइरहेको छ । पहिलो पटक असार २ गते बागबजारका दुई जनामा हैजा देखिएपछि डिल्लीबजार, सानेपा, कपन, बोहराटार, गोकर्णेश्वर, कागेश्वरी मनहरा, बुढानीलकण्ठ, ढल्कु, टेकु, त्रिपुरेश्वर र ताहाचलमा लगायतका स्थानमा हैजाका संक्रमित भेटिएका छन् ।
संक्रमितमध्ये १४ वर्षमुनिका ६ जना बालबालिका र ३६ जना १५ वर्षमाथिका रहेका मन्त्रालयको तथ्यांक छ । चिकित्सकका अनुसार हैजा अर्थात् कोलेरा भिब्रिओ कोलरी नामक जीवाणुको संक्रमणका कारण हुन्छ । हैजाको प्रमुख कारण पिउने पानी र खानेकुरा नै मानिन्छ ।
सामान्यतया झाडा पखालाजस्तो देखिने यो रोग केही गम्भीर प्रकृतिको हुने चिकित्सकहरू बताउँछन् । हैजा संक्रमण भएको एक घन्टादेखि पाँच दिनसम्म लक्षणहरु देखिन्छन् ।
अत्यधिक मात्रामा पातलो सेतो चौलानी जस्तो दिसा हुने, शरीरका माशंपेशी बाउँडिने, वान्ता हुने, थकाइ महसुस हुने हैजाका लक्षण हुन् । गम्भीर असर देखिन थालेपछि तत्काल उपचार नभएको खण्डमा बिरामीको मृत्युसमेत हुनसक्ने चिकित्सक बताउँछन् ।