काठमाडौं । कोरोना संक्रमण नेपालमा तीव्र गतीमा बढिरहेको छ। संक्रमणले घरपरिवार पीडित बनाएको छ। कुनै एकजनालाई संक्रमण हुँदा यसले पूरै परिवारला नै संक्रमित बनाउने जोखिम हुन्छ। तसर्थ संक्रमण भएको शंका लागेमा यी कुरा गर्नपर्छ ।
१. परीक्षण गर्नुस्
सास फेर्न गाह्रो हुने, खोकी लाग्ने, सिगान बग्ने, घाटी दुख्नेजस्ता लक्षण देखिनेवित्तिकै एन्टिजेन वा पिसिआर परीक्षण गराउनुपर्छ। जसले गर्दा तपाईंलाई कोभिड-१९ संक्रमण वा मौसमी रुघाखोकी के हो थाहा पाउन मद्दत पुग्छ ।
२. अलग्गै बस्नुस्
संक्रमित व्यक्तिले मुख नछोपी वा मास्क नलगाइ हाछ्युँय गर्दा वा खोक्दा र नजिकै रहेका वा अन्य कुनै तरिकाले सम्पर्कमा आएका स्वस्थ मानिसलाई थुक वा सिगानका छिटा वा र्यालको कणमार्फत संक्रमण सर्ने सम्भावना हुन्छ। त्यसैले लक्षण देखिनेवित्तिकै ५ दिनसम्म होम आइसोलेसनमा बस्नुपर्छ।
३. सम्पर्कमा आएकालाई जानकारी दिनुस्
तपाईंसँग विगत १४ दिनयता नजिकको सम्पर्कमा आएका मानिसहरुलाई तपाईंलाई संक्रमणको शंका लागेको वा संक्रमण पुष्टि भएको फोन गरेर वा सन्देश पठाएर जानकारी दिनुस् र उनीहरुलाई पनि परीक्षण गराउन सल्लाह दिनुस्।
४. लक्षणबारे ख्याल गर्नुस्
सुरुको अवस्थामा कोभिड-१९ संक्रमित व्यक्तिलाई ज्वरो, खोकी, थकान, घाँटी दुख्ने वा झाडापखालाको लक्षण हुन्छ। अनि प्राय: यी लक्षणहरु बढ्दै जान्छन् भन्ने कुरा ख्याल गर्नुहोस्।
५. आराम गर्नुहोस् र शरीरमा पानीको मात्रा कम हुन नदिनुस्
कोभिड-१९ संक्रमण भएको अवस्थामा सबैभन्दा महत्वपूर्ण कुरा सावधानी अपनाउनु हो। त्यसैले कोभिड-१९ को उपचार गर्ने भनेर प्रचार गरिएका अप्रमाणित औषधिहरु सेवन गर्नु हुँदैन। प्रशस्त मात्रामा तातो पानी र झोलिलो खाने कुरा खानुस्।
६. खोप नलगाएको भए निको भएको एक महिनापछि खोप लिनुस्
कोभिड-१९ बाट पनि मानिसहरुमा भाइरसविरुद्ध प्रतिरोधी क्षमता विकास हुन्छ। तर पनि त्यसलाई सुदृढ बनाउन कोभिड-१९ विरुद्धको खोप लगाउनु पर्ने हुन्छ। तर, संक्रमणमुक्त भएको एक महिनापछि मात्र खोप लगाउनुहोला।