काठमाडौं । भारतमा पछिल्लो समय फैलिइरहेको ‘टोमाटो फ्लु’ को जोखिममा नेपाल पनि छ। विज्ञहरुले नेपाली बालबालिकामा पनि पनि यो देखिन सक्ने चेतावनी दिएका छन्। उच्च संक्रामक मानिएको टोमाटो फ्लु खासगरी पाँच वर्षभन्दा कम उमेरका बालबालिकासँगको प्रत्यक्ष सम्पर्कका कारण सर्ने गर्छ।
भारतमा हालसम्म १ सय ८ जना बालबालिकामा यसको संक्रमण पुष्टि भइसकेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार केरलमा ८२ र तमिलनाडु राज्यमा २६ जना संक्रमित भएका छन्।
संक्रमणका कारण बालबालिकाको शरीरमा गोलभेंडा (टमाटर) जस्तै टल्किने रातो फोको देखिने भएकाले यसलाई ‘टोमाटो फ्लु’ नाम दिइएको हो ।
भारतमा टोमाटो फ्लुको संक्रमण फैलँदै गएपछि त्यहाँको सरकारले गत मंगलबार एक निर्देशिका जारी गर्दै सावधानी अपनाउन आग्रह गरिसकेको छ ।
संक्रमणका कारण बालबालिकाको ज्यान जाने खतरा नभए पनि यसको विशिष्ट औषधि भने छैन । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार टोमाटो फ्लु पहिलो पटक केरल राज्यको कोल्लम जिल्लामा गत वैशाख २४ मा देखिएको हो ।
भारतमा फ्लुको संक्रमण बढ्दै गएपछि नेपालमा पनि जोखिम बढेको भन्दै मिल्दोजुल्दो लक्षण देखिएको खण्डमा जानकारी दिई उपचार गराउन विज्ञहरूले सल्लाह दिएका छन् ।
संक्रमणका कारण नेपालमा पर्न सक्ने प्रभावबारे बृहत् अध्ययन भइरहेको स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का निर्देशक डा. चुमनलाल दासले बताए ।
नेपालसँग भारतीय राज्य बिहार, उत्तर प्रदेश, पश्चिम बंगाल, उत्तराखण्ड, असम, सिक्किमलगायत राज्यको सीमा जोडिएको औंल्याउँदै डा. दासले सीमा क्षेत्रमा संक्रमणबारे सतर्क गराइने जनाए ।
भारतमा कुनै नयाँ संक्रमण देखिए त्यसबाट नेपाल अछुतो नरहने डा. दासको भनाइ छ।ब्रिटिस मेडिकल जर्नलमा प्रकाशित रिपोर्टमा भारतमा ‘टोमाटो फ्लु’ भनिएको नयाँ भाइरस पहिलेदेखि नै खास क्षेत्र विशेषमा देखिएको उल्लेख छ ।
उक्त संक्रमण एचएफएमडी (हात, खुट्टा र मुखसम्बन्धी रोग) को एउटा प्रकार भएको चिकित्सकहरूले पुष्टि गरेका रिपोर्टमा उल्लेख छ । फ्लुको संक्रमणका कारण बालबालिकाका हात, खुट्टा र मुखमा रातो फोका देखिने, ज्वरो आउने, थकाइ लाग्ने र शरीर दुख्नेलगायतका समस्या हुने गर्छ । यद्यपि, यो संक्रमणको कोरोना, मंकीपक्स, डेंगु तथा चिकनगुनियासँग कुनै सम्बन्ध नरहेको जनाइएको छ ।