काठमाडौं । देशका १० जिल्लामा डेंगु संक्रमण भयावह बनेको छ । तर, यसको रोकथामको प्रमुख जिम्मेवार निकाय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय भने बल्ल तयारीमा जुट्दैछ।
उपत्यकालगायत देशका केही जिल्लामा डेंगु फेलिएपछि मन्त्रालयले त्यसको रोकथाममा जुट्न सरकारी अस्पताल र स्वास्थ्य कार्यालयलाई आइतबार निर्देशन दिएको छ । उपत्यकाका सरकारी अस्पताल र तीनवटै जिल्ला स्वास्थ्य कार्यालय प्रमुखलाई मन्त्रालयमा बोलाएर डेंगु नियन्त्रणमा लाग्न निर्देशन दिइएको हो।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता सञ्जयकुमार ठाकुरका अनुसार सबैभन्दा बढी प्रभावित जिल्ला छुट्याएर नियन्त्रणमा लाग्ने निर्णय आइतबारको बैठकले गरेको छ। हाल देशका चारवटा जिल्लाका डेंगु भयावह बनेको छ भने ६ जिल्लामा संक्रमण तीव्र छ ।
यी जिल्लालाई लक्षित गरेर कार्यक्रम तय गर्न लागिएको प्रवक्ता ठाकुरको भनाइ छ। ‘हामीले तयारी गर्न बाँकी छ, तर डेंगु सोचेभन्दा तीव्र गतिमा फैलिरहेको छ,’ उनले भने, ‘सरकारी र निजी अस्पताल तथा जिल्लास्थित स्वास्थ्य कार्यालयहरूलाई यसको नियन्त्रणमा जुट्न भनिसकेका छौँ।’
स्वास्थ्य मन्त्रालयले सरकारी अस्पतालले मात्रै डेंगुका बिरामीको चाप थेग्न नसक्ने भन्दै मंगलबार निजी अस्पतालका प्रमुखलाई पनि त्यसबारे छलफलमा बोलाएको थियो।
आइतबारको बैठकमा सिभिल अस्पताल, वीर अस्पताल, पाटन अस्पताल, त्रिवि शिक्षण अस्पताल, भक्तपुर अस्पताल, ख्वपः अस्पताललगायत स्वास्थ्य कार्यालयका प्रमुखलाई बोलाइएको थियो। हाल उपत्यकाभित्र सबैभन्दा बढी संक्रमण ललितपुरमा छ।
त्यस्तै, काठमाडौंमा भित्रभित्रै संक्रमण फैलिए पनि परीक्षण कम हुँदा संख्या कम आएको आकलन गरिएको जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख वसन्त अधिकारीले बताए । उनले स्वास्थ्य कार्यालयले मात्रै डेंगु नियन्त्रण थेग्न नसक्ने बताउँदै निजी अस्पतालको पनि साथ चाहिने बताए ।
‘अहिले डेंगु भित्रभित्रै फैलिएको छ, यसबारे स्वास्थ्य कार्यालयले मात्रै कार्यक्रम अघि सारेर हुन्न,’ उनले भने, ‘हामीलाई स्थानीय तहले पनि सहयोग गरिरहेका छन्, तर निजी अस्पतालले पनि यसमा सहयोग गुर्नपर्छ।’