काठमाडौं । डेंगुका बिरामी बढ्दै गएपछि काठमाडौं महानगरपालिकाले ‘लार्भा खोज र नष्ट गर’ अभियान सुरू गरेको छ । महानगरले लामखुट्टेले अण्डा पार्न सक्ने सम्भावित स्थानहरुको खोजी गरी लामखुट्टेको लार्भा नष्ट गर्न घरदलौ अभियान चलाएको हो ।
महानगरको ३२ वडाबाट अभियान सञ्चालन भइरहेको महानगरका स्वास्थ्य प्रमुख बलराम त्रिपाठीले जानकारी दिए ।पानी जम्ने ठाउँमा लामखुट्टेले लार्भा बनाउने भएकाले पानी जम्न दिन नदिन र निरन्तर सरसफाइको लागि जनचेतनामुलक अभियान अगाडी बढाइएको त्रिपाठीले बताए । ‘सबै वडाका स्वास्थ्य फोर्कल पर्सन तथा स्वास्थ्यकर्मीलाई तालिम दिएका दिएका छौं । डेंगुबारे जनचेतना फैलाउन घरदलो अभियानमा महिला स्वास्थ्यसेविका, स्थानीय संघसंस्था र जनप्रतिनिधिता सहभागी भएका छन्,’ त्रिपाठीले भने ।
डेंगुको जोखिम कम गर्न र सावधानी अपनाउनका लागि समुदायमा पुगेर सचेतना जगाउने काम भइरहेको महानगरले जनाएको छ । ‘घरमा भएका गमला, ड्रम, तथा सफा पानीमा डेंगुका लार्भा छन् । घरभित्रनै लामखुट्टे उत्पादन गर्ने कारखाना भइसकेको छ,’ त्रिपाठीले थपे, ‘समान्य जानकारी नहुँदा डेंगु फैलिरहेकाले छ । यसलाई नियन्त्रण गर्न खोज र नष्ट गर अभियान सुरु गरेका हौं ।’
त्यसका साथै स्कुल–स्कुलमा पुगेर बालबालिका मार्फत डेंगु नियन्त्रणका लागि सचेतनाको कार्यक्रम महानगरले गरिरहेको छ ।
डेंगु भाइरसद्वारा संक्रमित एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले यो रोग सार्दछ । यो रोग सार्ने लामखुट्टे ग्रामीण क्षेत्रमा भन्दा सहरी क्षेत्रमा बढी पाइने गर्छ । यो लामखुट्टेले सफा पानी जमेको स्थानमा फुल पार्ने गर्छ । विशेषगरी, वर्षाको पानी जम्ने जथाभावी फालेका बोतल, टिनका भाँडा, थोत्रो टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, गमला, पानीका ट्ंयाकी आदिमा यसले फुल पार्छ । सहरी क्षेत्रमा यस्ता वस्तुहरू थुप्रै हुने भएकाले पनि सहरमा बढी लामखुट्टे देखिने गर्छन् ।