काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथि बलात्कारको आरोप लागेको छ ।
प्रहरी बृत्त गौशालामा मंगलबार एक बालिकालाई बलात्कार गरेको भन्दै सन्दीपविरुद्ध उजुरी परेको छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डिआइजी टेकप्रसाद राईले सन्दीपविरुद्ध जबर्जस्तीको करणीको उजुरी परेको पुष्टि गरे ।
कप्तान सन्दीपले काठमाडौंकी १७ वर्षीया नाबालिगलाई भदौ ५ गते भक्तपुरको नगरकोट पुर्राएको त्यसपछि काठमाडौंको एक होटलमा ल्याएर रातको समय जबर्जस्ती करणी गरेको जाहेरीमा उल्लेख छ ।
स्वास्थ्य जाँचपछि पीडितलाई प्रहरीको संरक्षणमा राखिएको उनले जानकारी दिए।
प्रहरीद्वारा उक्त जाहेरी दरखास्त दर्ता गरी पीडितको एकद्वार संकट ब्यवस्थापन केन्द्रमा स्वास्थ्य परीक्षण समेत गरिएको छ ।
उजुरीपछि जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी बृत्त गौशालाबाट संयुक्तरुपमा खटिएको प्रहरी टोलीद्वारा घटनाबारे सुक्ष्मरुपमा अनुसन्धान गरिरहेको छ ।
सन्दीप हाल वेस्ट इन्डिजमा रहेका छन् । सन्दीप जमैका तालाबाजबाट क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिज पुगेका हुन् ।
त्यसअघि उनले केन्याविरुद्ध नेपालको टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिजमा कप्तानी गरेका थिए ।
सन्दीपसहित नेपाली टोली भदौ ६ गते केन्या प्रस्थान गरेका थिए ।