काठमाडौं, असोज १२ गते । सुदूरपश्चिम प्रदेशका बाढी पहिरो प्रभावितलाई संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (युएनएफपीए) ले प्रदेश तथा स्थानीय सरकारसँगको समन्वय र साझेदारीमा महिला तथा किशोरीको यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी आवश्यक स्वास्थ्य सामग्री, ‘डिग्निटी किट’ र किशोरी किट वितरण गरेको छ । गत हप्ता अविरल वर्षाका कारण गएको बाढी पहिरोबाट सो प्रदेशका विशेष गरी महिला तथा किशोरी बढी प्रभावित भएका जनाइएको छ ।
दार्चुला जिल्ला अस्पताललाई पाँच र महाकाली नगरपालिका–२ स्थित स्वास्थ्यचौकीलाई दुई स्थान प्रजनन स्वास्थ्य सामग्री (आरएच किट्स) प्रदान गरेको युएनएफपीएद्वारा आज यहाँ जारी विज्ञप्तिमा जनाइएको छ । प्रजनन स्वास्थ्य सामग्रीमा यौनजन्य सङ्क्रमणको उपचार गर्न, सुत्केरी गराउन र प्रसूतिसम्बन्धी जटिलताको व्यवस्थापन गर्न र बलात्कार भएको अवस्थामा उपचारका लागि आवश्यक औषधि तथा सामग्री समावेश गरिएको जनाइएको छ ।
राष्ट्रसङ्घको यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी एजेन्सीका रूपमा कार्यरत युएनएफपीएले सुदूरपश्चिम प्रदेशका दार्चुला, अछाम र कैलाली जिल्लामा विपत्का प्रभावित महिला तथा किशोरीका लागि चार सय ६२ डिग्निटी किट्स र दुई सय ७० किशोरी किट्स वितरण गरेको विज्ञप्तिमा उल्लेख छ ।
गर्भवती र सुत्केरीसहित महिला तथा किशोरीहरूको महिनावारीलगायत आधारभूत स्वच्छता तथा सुरक्षाको सुनिश्चितताका लागि डिग्निटी किट्स र किशोरी किट्स वितरण गरिएको हो । उक्त किट्सहरुमा विपतका बेला महिला तथा किशोरीका लागि चाहिने अत्यावश्यक सामग्रीहरू राखिएका छन् ।
उक्त सामग्रीहरू वितरणसँगै युएनएफपीएले यौन तथा अन्य हिंसाको जोखिम सम्बोधन गर्न हिंसा रोकथामसम्बन्धी सन्देश तथा त्यससम्बन्धी सेवा प्रवाह गर्ने निकायहरूको नाम, टेलिफोन नम्बर तथा जानकारी प्रदान गरेको जारी विज्ञप्तिमा जनाइएको छ । स्वास्थ्य सामग्रीमा परिवार नियोजनका साधनसमेत समेटिएका छन् ।
जिल्ला अस्पताल दार्चुलाका मेडिकल सुपरिटेन्डेन्ट डा आदर्श लिम्बूले सामग्री ग्रहण गर्दै विपतका बेला महिला तथा किशोरीका लागि यौन तथा प्रजनन स्वास्थ्य सेवालाई निरन्तरताका दिन युएनएफपीएको सहयोगले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो ।
सो अवसरमा युएनएफपीएका नेपाल प्रतिनिधि योङ होङले भन्नुभयो, “मानवीय विपतका बेला विद्यमान लैङ्गिक विभेद तथा यौन तथा प्रजनन स्वास्थ्यमा गरिने बेवास्ताका कारण महिला तथा किशोरी सबैभन्दा बढी प्रभावित हुन्छन् । अझ प्रभावितका लागि व्यवस्था गरिएका अस्थायी टहरा तथा आश्रयस्थलमा लैङ्गिक हिंसाको जोखिम बढी हुन्छ । सुदूरपश्चिममा मात्र होइन मुलुकका अन्य भागमा समेत मानवीय विपत्का बेला महिला तथा किशोरीहरूको यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी आवश्यकतालाई प्रभावकारीरुपमा सम्बोधन गर्नका लागि सरकार तथा प्रमुख सरोकारवालालाई तयारी अवस्थामा रहून् भनेर सुनिश्चित गर्न युएनएफपीए प्रतिबद्ध छ ।”
विज्ञप्तिमा मानवीय विपतका बेला महिला तथा किशोरीहरूले यौन तथा प्रजनन स्वास्थ्य तथा लैङ्गिक हिंसा सम्बोधन गर्ने सेवा निरन्तर रूपमा पाइरहुन् भनेर सुनिश्चितता गर्न यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी मध्य तथा दीर्घकालीन आवश्यकताहरू पहिचान गर्नका लागि सरकारलाई सहयोग पुर्याउन युएनएफपिए साझेदार संस्थाहरूसँग कार्य गरिरहेको जनाइएको छ । युएनएफपीएले मानवीय विपत्लाई प्रभावकारी रूपमा सम्बोधन गर्न अष्ट्रेलिया र बेलायत सरकार तथा युरोपियन युनियनको सहयोगमा विभिन्न किसिमका ७० सेट यौन तथा प्रजनन स्वास्थ्य सामग्री (आर एच किट्स्) एवं १० हजारभन्दा बढी डिग्निटी र किशोरी किट्सहरु तयारी अवस्थामा राखेको छ ।