बेलायती प्रधानमन्त्री लिज ट्रसले हिजो अचानक राजिनामा दिएपछि नयाँ प्रधानमन्त्री छनौटको प्रकृया शुरु भएको छ । नयाँ प्रधानमन्त्रीको निर्वाचन आगामी २८ अक्टोबरमा हुने बताइएको छ ।
प्रम छनौटको प्रकृया शुरु भइसकेको बताइएको छ । आगामी ३१ अक्टोबरमा हुने वित्तीय विवरण अघि नै नयाँ प्रधानमन्त्री छानिसक्नुपर्ने बताइएको छ ।
प्रधानमन्त्रीको पद सम्हालेको करिब डेढ महिनामा नै राजिनामा दिनुभएकी ट्रस बेलायतको इतिहासमै सबैभन्दा कम समयकी प्रधानमन्त्री हुनुहुन्छ । उहाँले प्रधानमन्त्रीको पद सम्हालेको ४४ दिनमा राजिनामा दिनुभएको हो ।
ट्रसको प्रधानमन्त्री भएपछि ल्याएका आर्थिक नीतिका कारण सरकारको तीव्र आलोचना भएको थियो । आलोचना कम होस् भनेर उहाँले केही दिनअघि आफ्ना अर्थमन्त्रीलाई बर्खास्त समेत गर्नुभएको थियो ।
पार्टीभित्र र बाहिरबाट आलोचनाको क्रम नरोकिएपछि उहाँले राजीनाको घोषणा गर्नुभएको हो । अर्को प्रधानमन्त्री चयन नभएसम्मका लागि ट्रसले नै अन्तरिम प्रधानमन्त्रीका रूपमा काम गर्नुहुनेछ ।
ट्रस बेलायतकी तेस्रो महिला प्रधानमन्त्री हुनुहुन्छ । बेलायतको तल्लो सदनमा कन्जरभेटिभ पार्टीकै बहुमत भएकाले सो पार्टीको नेता चुनिने व्यक्ति नै नयाँ प्रधानमन्त्री बन्ने छन् ।-