काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानी प्रसाद खापुङले मधुमेहका बिरामीहरुलाई समयमा नै औषधि खानका लागि सुझाव दिएका छन् । विश्व मधुमेह दिवसका अवसरमा आयोजित कार्यक्रममा आफ्नो धारणा राख्दै उनले यस्तो बताएका हुन् ।
यस वर्ष मधुमेह शिक्षा , भोलीको सुरक्षा भन्ने नारासहित विश्व मधुमेह दिवस मनाइदै छ । कार्यक्रममा बोल्दै मधुमेह तथा हर्मोन रोग विशेषज्ञ डा. दीपक मल्लले मधुमेहलाई बेलैमा नियन्त्रण गर्न सकिएन भने यसले शरीरका अन्य अंग जस्तैः आँखा, मुटु, मिर्गौला, तथा स्नायुमा पनि असर पुर्याउने बताए ।
शरीरको तौल बढ्दै गएमा मधुमेहको जोखिम पनि उत्तिकै बढ्दै जाने सम्भावना रहन्छ । तर, खानपानले पनि मधुमेहको निर्धारण गर्छ । यो सरुवा रोग होइन तर यसलाई जेनेटिक रोगको रुपमा लिइन्छ । परिवारका कुनै सदस्यलाई मधुमेह छ भने उसको सन्तानमा पनि यो रोग देखिने सम्भावना उत्तिकै रहन्छ ।
मुटु रोगी र ४० वर्ष नाघेका मानिसहरुलाई मधुमेहको समस्या देखा पर्न सक्छ । अहिले विश्वभर ४५ करोडभन्दा बढी मानिस मधुमेहबाट पीडित रहेको विश्व स्वाथ्य संगठनको तथ्यांक छ । विलासी जीवनशैली र अस्वस्थकर खाना नै मधुमेहको मुल कारण हो ।
मधुमेहसँगै उच्च रक्तचाप, मोटोपना, कोलेस्टेरोल भएका बिरामीलाई हृदयाघातको जोखिम बढी हुने भएकाले मधुमेह भएका व्यक्तिले खानपानमा सजगता अपनाउन जरुरी हुन्छ । साथै दैनिक रुपमा व्यायाम गर्नु र तनावमुक्त हुनु पनि यसबाट बच्ने उत्तम उपाय हो ।
मधुमेहलाई बेलैमा नियन्त्रण गर्न सकिएन भने यसले शरीरका अन्य अंग जस्तैः आँखा, मुटु, मिर्गौला, तथा स्नायुमा पनि असर पुर्याउन सक्छ ।