काठमाडौं । सुदूरपश्चिममा महिनावारी हुँदा महिलालाई छुट्टै छाउगोठमा राख्ने चलन छ। यति मात्रै नभएर महिनावारी भएका महिलालाई बाटोमा हिड्न समेत दिइँदैन।
बाजुराका अधिकांश स्थानीय तहमा मठमन्दिर भएकै ठाउँमा विभिन्न गोरेटो बाटो छन्। ती बाटोमा महिनावारी भएका महिला हिँड्न पाउँदैनन्। महिनावारी भएका महिलाले ती बाटोमा हिँड्दा देवता रिसाउँछन् भन्दै धामीझाँक्रीले डर देखाउँछन् । यही कारणले गर्दा महिनावारी भएका महिलाका लागि ती बाटा बन्द हुन्छन्।
बूढीगङ्गा नगरपालिका-१०, तिमाडाका स्थानीय पार्वती नेपालीले महिनावारी भएपछि आफूलाई गाउँका अधिकांशले गोरेटो बाटोमा हिँडडुल गर्न वञ्चित गरिँदै आएको बताए। आफूले ती बाटोमा जबरजस्ती हिँड्न खोजे पनि गाउँका अगुवा र धामीझाँक्रीले यसले देवता छोयो भन्दै आफूसँग रिसाउने गरेको उन्को गुनासो छ । 'गाउँ नजिकै कालापातलको मन्दिर छ, त्यसै बाटोबाट यहाँका स्थानीयहरू आउजाउ गर्छन् तर महिनावारी भएका महिलाका लागि भने त्यो बाटो सधैँ बन्द हुने गरेको छ' नेपालीले भने।
जिल्लामा छाउप्रथा अन्त्य गर्न विभिन्न कार्यक्रम हुन्छन् तर तिमाडाका लागि भने ती कार्यक्रमले कुनै प्रभाव पारेको छैन। यहाँका अधिकांश महिलाल महिनावारी हुँदा मीठा खान त के राम्रो ठाउँमा सुत्नसमेत पाएका छैनन्।
यहाँका महिलालाई महिनावारी भएका बेला दूध, दही, महीलगायतका पासिला खानेकुरा दिइँदैन। महिनावारी भएका महिलाले दुहुना गाईभैँसी छुन पनि मिल्दैन। कसैले जबरजस्ती छोएमा गाई बिरामी भयो, नब्याउने हुन्छ भन्दै महिलालाई दण्ड तोक्ने गरिन्छ।
महिनावारी भएका बेला महिलाले गाई, भैंसी छोएमा सुनपानी छर्केर चोख्याउने गरिएको पार्वती नेपाली बताउनुहुन्छ। बाजुरामा छाउप्रथा अन्त्यका लागि दुई वर्षभन्दा पहिले विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन भए। तर ती कार्यक्रमले पैसा मात्र खर्च गरेको प्रथा उस्तै रहेको तिमाडाकी पवित्रा नेपाली बताउँछिन् ।
छाउगोठमा सुत्दा बाजुराका एक महिला र दुई बालकको अकालै ज्यान गयो। त्यसपछि बाजुराका झन्डै ५११ वटा छाउगोठसमेत भत्काइयो तर पनि छाउप्रथा अहिलेसम्म कायमै छ।
स्थानीय सरकारले कानुनी रूपमा कारबाही नगर्दासम्म यो प्रथा कायमै रहने नेपाली बताउँछिन् । उनले भने , 'महिनावारी हुँदा देवताको डरले घरभन्दा धेरै टाढा छाउगोठमा सुत्दा गाउँका कयाँ दिदीबहिनी बलात्कृत भए। धेरैको जीवन बर्बाद भयो। तर पनि यो प्रथा गलत हो भन्नेमा गाउँमा कसैको ध्यान नजाँदा धेरैले दुःख भोग्नु परेको छ।'
गोरखापत्र दैनिकबाट