काठमाडौं । नेकपा (माओवादी केन्द्र) की नेतृ एवं सभामुख ओनसरी घर्तीले संघीय कानून निर्माण हुन नसक्दा प्रदेश र स्थानीय सरकारलाई समस्या परिरहेको भन्दै कानून निर्माणमा पहिलो प्राथमिकता दिनुपर्ने बताएकी छन् ।
मंगलबार (आज) स्पिकर्स फोरम नेपालले काठमाडौंमा आयोजना गरेको प्रदेश सभाको आगामी कार्यभार र स्पिकर्स फोरम नेपालको दायित्व विषयक अन्तरक्रियामा बोल्दै उनले यस्तो बताएकी हुन् ।
नेतृ घर्तीले संघीय शासनप्रणालीको दोस्रो कार्यकाल सुरु भइसक्दा समेत संघमा आवश्यक कानून निर्माण हुन नसकेकाले आम सर्वसाधारणहरुलेसमेत समस्या व्यहोरिरहेको बताइन् । उनले संघीय कानून बनिसकेपछि मात्रै प्रदेश सभाको प्रभावकारिता बढ्ने बताइन् ।
पूर्व सभामुख घर्तीले जनताले आफ्ना जनप्रतिनिधिहरुले संसदमा गरिरहेका कार्यहरु हेर्न पाउनुपर्ने बताइन् । उनले जनता र जनप्रतिनिधिबीचको सम्बन्ध ५ वर्षमा घोट माग्न जानेकुरामा मात्रै सिमित हुनु नहुने बताइन्।
उनले संसदमा जनगुनासाहरुको सम्बोधन हुनुपर्ने पनि बताइन्। उनले जनप्रतिनिधिहरुले पद पाएपछि जनतासँग गरेका वाचाहरु भुल्नसक्ने भन्दै जनताले आफ्ना जनप्रतिनिधिहरुलाई झक्झकाइरहनुपर्ने बताइन्।
पूर्व सभामुख घर्तीले नेपालमा सुशासनको समस्या बढीरहेको बताइन् । उनले जनताले गर्नै नसकिने काम गर्न नलगाएको भन्दै जनताले चाहेका काम सांसदले पूरा गर्नुपर्ने बताइन्।
उनले जनताको काम गर्न र संसदका गतिविधिहरुलाई पारदर्शी बनाउन संघ र प्रदेशले प्रभावकारी भूमिका खेल्नु पर्ने बताइन् । उनले पछिल्लो समय भ्रष्टाचार बढीरहेको भन्दै सरकारको हरेक निकायहरु नै भ्रष्टाचारको संस्कार सिकिसकेको उल्लेख गरीन् ।
उनले भ्रष्टाचार नियन्त्रणका लागि नयाँ सांसदहरुलाई ठूलो चुनौति रहेको बताइन् । नेपालमा भएको पैसा पनि खर्च हुन नसकेको भन्दै गुनासो गरीन् ।
पूर्व सभामुख घर्तीले सांसदको काम र भुमिकाबारे जनतामा चेतना फैल्याउन आवश्यक रहेको पनि बताइन्। उनले कानून निर्माणका बारेमा विभिन्न स्तरका बैठक र छलफलहरु हुनुपर्ने बताइन् ।