काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको गठबन्धन सरकारमा जान तीनवटा शर्त पूरा हुनुपर्ने जनाएको छ ।
राजधानी काठमाडौंमा दुई दिनसम्म बसेको जसपा नेपालको राजनीतिक समितिको बैठकले गठबन्धन सरकारमा जान तीनवटा शर्त पूरा हुनुपर्ने अडान लिएको छ ।
यसअघि नै गठबन्धन सरकारलाई समर्थन दिइसकेको जसपाले दलको नेतामा रामसहायप्रसाद यादवलाई चयन गरिसकेको छ । उसले तीनवटा शर्त पूरा नभए सरकारमा सहभागी नहुने निर्णय गर्दै सरकारलाई दिएको समर्थन भने यथावत राखिने जनाएको छ ।
जसपाले पहिलो शर्तका रुपमा संघीयताविरोधी, गणतन्त्रविरोधी, धर्मनिरपेक्षतालाई अस्वीकार गर्ने, राजनीतिक विचार र सिद्धान्त प्रष्ट नभएका दलसमेत सत्ता साझेदार रहेको ठहर पनि गरेको ।
उसले अहिलेको अवस्थामा जसपाका यी मूलभुत सिद्धान्तहरु संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समावेशीताको प्रतिकुल हुने गरी सरकारको न्युनतम् साझा नीति तथा कार्यक्रम आएमा सरकारमा नजाने अडान लिएको छ ।
त्यसैगरी दोस्रो शर्तमा जसपाले उठाउँदै आएको संविधान संशोधनको विषय, नागरिकता समस्या समाधान र सुशासनको प्रत्याभूति नहुने अवस्था देखिएमा पनि सरकारमा नजाने अडान लिएको छ ।
जसपा प्रवक्ता मनिष सुमनका अनुसार तेस्रो शर्तका रुपमा शक्ति बाँडफाँट रहेको छ । जसपाले गठबन्धन सरकारमा जाँदा मधेश प्रदेश सरकारको नेतृत्व आफ्नो हुनुपर्ने अडान लिइरहेको छ ।
एमाले र माओवादी नेतृत्वले पनि मधेशमा जसपा र जनमतलाई सरकारको नेतृत्व छाड्ने सैद्धान्तिक सहमति गरेका छन् ।