काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले उद्यमशीलताको विकास र रोजगारी सिर्जनामा अपेक्षित सफलता हासिल गर्न व्यवहारिक योजनाहरू बनाइ लागू गर्नुपर्ने खाँचो रहेको बताएकी छन् ।
राष्ट्रपति भण्डारीले उद्यमशीलताको विकास र रोजगारी सिर्जनामा अपेक्षित सफलता हासिल गर्न बैंकिङ तथा वित्तीय संस्थाहरूले सरकारसँगको समन्वयमा व्यवहारिक योजनाहरू बनाइ लागू गर्नुपर्ने खाँचो रहेको औल्याएकी हुन् ।
आइतबार (आज) राष्ट्रपति कार्यालयमा भएको बैंक तथा वित्तीय संस्था परिसंघ नेपालको तेस्रो वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।
उनले पुँजीको निर्माण र परिचालनका क्षेत्रमा सरकारका उद्देश्यहरू उपयुक्त हुँदाहुँदै पनि उद्यमशीलताको विकास र रोजगारी सिर्जनामा अपेक्षित सफलता हासिल गर्ने अझै धेरै कामहरू गर्नुपर्नेमा जोड दिइन् ।
राष्ट्रपति भण्डारीले बैंक तथा वित्तीय संस्था परिसंघले आर्थिक क्षेत्रका जल्दाबल्दा विषयहरुमा विश्वविद्यालयहरू, प्राज्ञिक व्यक्तित्व तथा विज्ञहरुद्वारा अध्ययन अनुसन्धान गरी निजीगत सुधारका लागि सम्बन्धित निकायहरुलाई अभिप्रेरित गर्नु राम्रो भएको बताइन् ।
उनले आर्थिक क्षेत्रमा आवश्यक पर्ने दक्ष मानव संशोधन स्वदेशमा नै उत्पादन गरी स्वदेशकै सेवामा लगाउनका लागि सहकार्य आवश्यक रहेको पनि बताइन् ।
उनले नवप्रवर्द्धन र उद्यमशीलताका लागि युवा पुस्तालाई अभिप्रेरित गर्न परिसंघको ठुलो नैतिक एवं भौतिक कामको अपेक्षा मुलुकले गरेको पनि बताइन् ।
उनले आन्तरिक उत्पादन बढाउन र उद्यमशीलता प्रवर्द्धन गर्नसके आयातमा आधारित उपभोग प्रणाली यसमा आधारित राजश्व प्रणालीमा सुधार ल्याउन सकिने बताइन् ।