काठमाडौं । राष्ट्रिय जनमोर्चा अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य चित्रबहादुर केसीले गणतन्त्रमाथि खतरा अरु कसैबाट नभई यसैका लागि लडेका व्यक्तिहरुबाट हुने टिप्पणी गरेका छन्।
सोमबार प्रतिनिधि सभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले कसरी हुन्छ सत्तामै पुग्ने प्रवृत्तिका कारण समस्या भएको बताए। उनले राजनीतिक दल र कार्यकर्ताका कारण अब निर्वाचनमा भाग लिन नसकिने हुँदै गएको बताए।
‘म चार पटकसम्म सांसद भएर आएँ’ उनले भने, ‘तर, यसपटक निर्वाचनमा भाग लिँदा जस्तो भोगेँ अब साँच्चै निर्वाचन लड्न नसकिने भएको छ।’
एकातिर मुलुकको अर्थतन्त्र डामाडोल भएको अर्कोतिर मन्त्री र सांसदहरुको कारखाना खुलेको केसीको टिप्पणी छ।
‘यसरी सांसद र मन्त्री मात्र भएको देशको अर्थतन्त्र कसरी थामिन्छ?’, उनले भने, ‘कुन चाहिँ मन्त्रीले भ्रष्टाचार गर्नुपर्छ भन्छन? तर, कसले व्यवहारमा लागू गरेको छ?’
केसीले कसरी सत्तामा जान भन्ने मात्र देखिएको भन्दै यो देशका लागि खतरा भएको टिप्पणी गरे। ‘राजनीतिक नेता, सांसद र मन्त्रीप्रति जनताको आस्था र विश्वास छैन। यही संस्कृति कार्यकर्तामा राख्ने हो भने देश जोगाउन सक्दैनौं’, उनले भने, ‘जुनसुकै मूल्य चुकाएर पनि सत्तामा जाने अनि चुनावमा खर्च गरेको पैसा उठाउने काम गरेर हुन्छ?’ सत्ता गठबन्धन कसरी भत्काउने कार्य हुन्छ। नैतिकता भन्ने हुदैन।’
उनले अदालत र संसद् तथा निर्वाचन आयोगमा समेत सेटिङ हुने गरेको आरोप लगाए।