काठमाडौं- सिंहदरबारमा सर्वसाधारणको प्रवेश सहज तुल्याउन सरकारले विशेष व्यवस्था गर्ने भएको छ । प्रवेशलाइ सहज गर्न सिंहदरबारभित्र अत्यावश्यक काम लिएर आउने सर्वसाधारणले जिल्लाबाटै प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरेर पास लिन सक्ने ब्यवस्था गरिने भएको छ ।
देशकै केन्द्रीय प्रशासनिक सचिवालय रहेको हुनाले सिंहदरबारको सुरक्षा व्यवस्थापन संवेदनशिल मानिन्छ । यही सुरक्षा संवेदनशिलतालाई ध्यानमा राखेर सिंहदरबार प्रवेशलाई सहज तुल्याउन बिशेष योजना ल्याउन लागिएको गृहमन्त्रालयले जनाएको छ ।
केहि समयअघि प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र गृहमन्त्री रवि लामिछानेबीच सिंहदरबारमा सर्वसाधारण नागरिकको सहज प्रवेशका लागि छलफल भएको थियो । सोहि छलफल अनुरुप अहिले गृहमन्त्रालयले समिति गठन गरी प्रतिवेदन तयार गरिरहेको छ ।
अत्वाश्यक काम परेकाहरुलाई भने सम्बन्धित शाखामा फोन गरेर वा जिल्लाबाट प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरेर भित्र पास लिएर आउने व्यवस्था रहेको गृह मन्त्रालायले जनाएको छ ।
वर्तमान व्यवस्थामा सर्वसाधारणले सिंहदरबारभित्र सहज प्रवेश पाउने अवस्था रहेको छैन । यहाँ भित्रबाट प्रवेश पास उपलब्ध गराएपछि मात्रै सर्वसाधारणले सिंहदरबारको दक्षिणद्वारबाट प्रवेश पाउँछन् ।
मन्त्रालयका अनुसार, दैनिक सिंहदरबारभित्र कर्मचारी र सर्वसाधारण गरी दैनिक ८ देखि १० हजार जना प्रवेश गर्ने गर्दछन् । नयाँ सरकार गठन भएपछि यो संख्या ह्वात्तै बढेर १५ हजारसम्म पुग्ने गरेको मन्त्रालयले जनाएको छ ।
यसैबीच गृहमन्त्रालयले सिंहदरवार प्रवेशका लागि यसअघि जारी गरिएका पासहरु एवम् अस्थायी परिचय पत्रको आधारमा मंगलबारबाट प्रवेश बन्द गर्दै नविकरण गर्न वा नयाँ बनाउन आग्रह गरेको छ ।-