सोमबार बिहान पहिलो पटक भूकम्प गएयता हालसम्म ४,३०० जनाको मृत्यु भएको जनाइएको छ। पहिलो धक्काको करिब १२ घण्टा पछि अर्को शक्तिशाली भूकम्प उत्तरी भेगमा गएको थियो।

उद्धारकर्मीहरूले अत्यधिक चिसो र हिउँका बाबजुद भग्नावशेषको थुप्रोमा जीवितहरूको खोजी गरिरहेका छन्।

विश्वभरबाट विज्ञ समूह, तालिमप्राप्त कुकुर र विविध उपकरणहरूसहित उद्धारका लागि सहयोग पठाउने क्रम जारी छ।

यूएस जियोलोजिकल सर्भेका अनुसार टर्कीको स्थानीय समयअनुसार बिहान ४ बजेर १७ मिनेटमा गाजीयान्टेप सहर नजिक १७.९ किलोमिटर गहिराइमा ७.८ म्याग्निट्यूडको भूकम्प गएको हो।

भूकम्पविद्हरूले सोमवार गएको पहिलो भूकम्प टर्कीमा अभिलेखीकरण गरिएकोमध्ये अहिलेसम्मकै सबैभन्दा ठूलो भूकम्प भएको बताएका छन्। भूकम्प महसुस गरेका मानिसहरूका अनुसार कम्पन रोकिन करिब दुई मिनेट लागेको थियो।

पहिलो भूकम्पबाट प्रभावित भनिएको दोस्रो भूकम्प ७.५ म्याग्निट्यूडको थियो जसको केन्द्रबिन्दु काहमनमरस प्रान्तको एल्बिस्तान जिल्लामा थियो।

यस क्षेत्रमा परकम्पहरू पटकपटक महसुस भइरहेका छन्।

टर्की र सिरियाका प्रभावित क्षेत्रहरूमा ज्यान गुमाउने र घाइते हुने दुवैको सङ्ख्या तीव्र रूपमा बढ्दो छ।

 

उद्धारकर्मीहरूले भग्नावशेषमा थुप्रै मृतक भेटेका छन् र त्यो सङ्ख्या आठ गुणासम्म बढ्न सक्ने डब्लूएचओले चेतावनी दिएको छ।

"भूकम्प जाँदा दुर्भाग्यवश परिस्थिति दोहोरिन्छन्। मृतक र घाइते भएकाहरूको सङ्ख्याबारे प्रारम्भिक विवरण केही सातापछि उल्लेख्य रूपमा वृद्धि हुन्छ,” युरोपका लागि डब्लूएचओका वरिष्ठ आपत्कालीन अधिकारी क्याथरिन स्मलवुडले समाचार संस्था एएफपीलाई भनेकी छन्।

स्मलवुडले हिउँका कारण धेरै मानिसहरू आवासविहीन हुने जोखिमसमेत बढाएको जानकारी दिइन्।

धेरै पीडितहरू युद्धग्रस्त उत्तरी सिरियामा छन् जहाँ लाखौँ शरणार्थीहरू टर्कीसँगको सीमा क्षेत्रमा दुवै भूभागका शिविरहरूमा आश्रित छन्।

विद्रोही समूहको नियन्त्रणमा रहेको क्षेत्रमा दर्जनौँ मानिसको मृत्यु भएको बताइएको छ।

दुवै देशका हजारौँ भवनहरू ध्वस्त भएका छन्। थुप्रै भिडिओहरूमा ती भवन भत्किँदै गरेको क्षण देखिन्छ। सडकहरू भत्किएका छन् र वरपर भग्नावशेषका थुप्राहरू देखिन्छन्।

ध्वस्त भएका भवनहरू मध्ये गाजीयान्टेप कासल ऐतिहासिक महत्त्वको थियो जुन दुई हजार वर्षभन्दा पुरानो हो।

बीबीसीको मध्यपूर्वस्थित संवाददाता आना फोस्टरले टर्कीको भूकम्पको केन्द्रबिन्दु नजिकै रहेको सहर ओस्मानीयाबाट एक विनाशकारी दृश्यको वर्णन गरिन्।

"पानी परिरहेको छ जसले उद्धार कार्यमा अड्चन थपेको छ। आज रातभर सहरमा बिजुली छैन।

"हामी अझै पनि निरन्तर परकम्पहरू महसुस गरिरहेका छौँ र त्यहाँ अझै धेरै भवनहरू भत्कन सक्ने चिन्ता छ," उनले भनिन्।   बिबिसी