काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले राष्ट्रपतिको सवारीका कारण उत्पन्न परिस्थितिको जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्ने बताएका छन् । उनले सरकारको कमजोरीको कारण राष्ट्रपति संस्थाप्रति आक्रोस उत्पन्न भएको र त्यसले यो व्यवस्थामाथि नै प्रश्न उठाइरहेको बताए ।
प्रतितिनिधिसभाको आइतबारको बैठकमा बोल्दै सांसद पन्तले राष्ट्रपतिको सवारीका दिन आफू पनि जाममा परेको र गाली सुन्न नसकेर सांसदको लोगो छोपेर, मास्क लगाएर हिँड्नुपरेको बताए ।
‘राष्ट्रपतिजी संसद्मा सम्बोधन गरेर फर्किनुभयो । त्यसपछिको सडक जामको विषयलाई लिएर राष्ट्रपति, सरकार र सांसदप्रति गालीगलौज भइरहेको छ । देशभरिबाट आक्रोस व्यक्त भइरहेको छ,’ उनले भने, ‘यसमा दोष राष्ट्रपतिको होइन, सरकार र सुरक्षा संयन्त्रको हो । यसको सम्पूर्ण जिम्मेवारी सरकारले, प्रधानमन्त्रीले लिनुपर्छ ।’
उनले सवारी व्यवस्थापनलाई खुकुलो पार्न पटक पटक कुरा उठे पनि सरकारले त्यसलाई बेवास्ता गर्दै आएको बताए । ‘यसपटक म आफैं पनि एक घण्टा जाममा परेँ । त्यतिञ्जेल सयौँ एम्बुलेन्स पनि जाममा परे, ती एम्बुलेन्समा कस्ता बिरामी थिए ? कत्तिको त जीवन पनि खतरामा प¥यो होला,’ उनले भने, ‘भीडमा नागरिकको गाली सुन्न नसकेर मैले लोगो छोप्नुप¥यो, मुखमा मास्क लगाउनुप¥यो । लोकतन्त्रमा लोकको यो आवाजप्रति हाम्रो संयन्त्र किन जवाफदेही हुन सकेन ?’
उनले प्रधानमन्त्री पुष्पकमल दाहाल आफैंले तत्कालै समन्वय गरेर विशिष्ट व्यक्तिको सवारी व्यवस्थापनलाई लोकतन्त्र सुहाउँदो र सुरक्षाको हिसावले समेत उपयुक्त व्यवस्थापन गर्नुपर्ने बताए ।