काठमाडौं- स्ववियु निर्वाचनका लागि प्रचारप्रसारको समयावधी आज मध्यरातिदेखि सकिदैछ ।
उम्मेदवारहरुले आज राति १२ बजेसम्म मात्र प्रचार प्रसार गर्न पाउने छन् । त्यसपछि मौन अवधि सुरु हुने भएकाले कुनै पनि माध्यमबाट भोट माग्न वा प्रचार गर्न पाइने छैन ।
अन्तिम दिन आज विद्यार्थी सङ्गठनले प्रचारप्रसारलाई तीव्र पारेका छन् । यसपटकको निर्वाचनमा स्ववियु आचारसंहितामा कडाइ गरेकाले उम्मेदवारले पर्चा, पम्पलेट एवं माइकिङ गर्न भने पाएका छैनन् ।
त्रिविले पनि प्रचारप्रसार गर्नका लागि रङ्गरोगन र कुनै पनि प्रकारको पोष्टर टाँस्न नपाइने गरी आचारसंहिता बनाएपछि निर्वाचनमा यसपटक तडकभडक देखिएको छैन । आचारसंहिताले निर्वाचनलाई व्यवस्थित बनाएपछि उम्मेदवारले सामाजिक सञ्जालमार्फत प्रचारप्रसार गरिरहेका छन् ।
अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन् । यसैगरी उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य समानुपातिक प्रणालीबाट चुनिनेछन् ।
त्रिविका ६२ आंगिक र १ हजार ४० सम्बन्धन प्राप्त क्याम्पसहरुमा स्ववियु निर्वाचन हुनेछ । कतिपय क्याम्पसमा भर्ना विवादका कारण निर्वाचन अनिश्चित छ भने केही क्याम्पसहरुमा निर्विरोध नेतृत्व चयन भइसकेका छन् ।
स्ववियु निर्वाचनका लागि चैत ५ गते बिहान ८ देखि दिउँसो ४ बजेसम्म मतदान तोकिएको छ ।