दक्षिण कोरिया र जापानका नेताहरू ऐतिहासिक शिखर वार्ताका लागि भेट्नु केही घण्टा अघि उत्तर कोरियाले अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ ।
जापानी र दक्षिण कोरियाली अधिकारीहरूले बिहीबार बिहान लामो दूरीको क्षेप्यास्त्र प्रक्षेपण भएको पुष्टि गरेका छन् । यो क्षेप्यास्त्र झण्डै १ हजार किलोमिटर टाढा उडेर पश्चिम जापानको समुद्रमा अवतरण भएको हो ।
उत्तर कोरियाले एक साताको बीचमा गरेको यो चौथो क्षेप्यास्त्र प्रहार हो । यस अघि प्रहार गरिएका क्षेप्यास्त्र भने छोटो दूरीका रहेका थिए । अमेरिका र दक्षिण कोरियाले कोरियाली प्रायद्धीप वरिपरि गरिरहेको नौसैनिक अभ्यासकै बीच यस्ता गतिविधि भइरहेका छन् ।
उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियाको संयुक्त सैनिक अभ्यासलाई उक्साहटका रुपमा हेरेको बताइएको छ । उत्तरको मिसाइल प्रक्षेपणपछि जापान र दक्षिण कोरियाले राष्ट्रिय सुरक्षा परिषद्को बैठक आह्वान गरेका छन् ।