काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चैत ६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिने हुनुभएको छ ।
चैत ६ गते विश्वासको मत लिने गरी समय तालिका मिलाउन आग्रह गर्दै प्रधानमन्त्री प्रचण्डले संसद्लाई लिखित पत्राचारसमेत गर्नुभएको छ ।
राष्ट्रपति निर्वाचनको पूर्वसन्ध्यामा अघिल्लो सत्ता गठबन्धन टुटेपछि सरकारमा सामेल दलहरु समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएका थिए ।
सत्ता सहकार्यमा रहेको दलको समर्थन फिर्ता भएपछि संवैधानिक व्यवस्थाअनुसार प्रधानमन्त्री प्रचण्डले छोटो अवधिमा नै दोस्रो पटक विश्वासको मत लिन लाग्नुभएको हो । सरकारमा सहभागी भएको राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थन फिर्ताको मितिले चैत १२ गतेसम्म विश्वासको मत लिनुपर्ने संवैधानिक समयसीमा प्रधानमन्त्रीसँग छ ।
यसअघि पुस २६ गते पहिलो पटक प्रधानमन्त्रीले विश्वासको मत लिनुभएको थियो । पहिलो पटक नेकपा (एमाले)लगायतका दलको समर्थनमा सरकार बनाउनुभएका प्रचण्डले झन्डै ९९ प्रतिशत मत पाउनुभएको थियो ।