काठमाडौं- नेपालसहित विश्वभर आज विश्व क्षयरोग दिवस मनाइँदै छ । ‘हो ! हामी क्षयरोग अन्त्य गर्छौं’ मूल नाराका साथ विश्व क्षयरोग दिवस मनाउन लागिएको छ ।
आर्थिक वर्ष २०७८-७९ मा नेपालमा ३७ हजार आठ सय ६१ विश्व क्षयरोगका बिरामीको उपचार हुने गरेकामा ९१ दशमलव पाँच प्रतिशत बिरामी निको हुने गरेका छन् ।
क्षयरोगीमध्ये ६१ दशमलव छ प्रतिशत पुरुष, ३८ दशमलव चार प्रतिशत महिला र आठ दशमलव सात प्रतिशत (१५ वर्षभन्दा मुनिका बालबालिका) रहेका छन् ।
आव २०७८÷७९ मा राष्ट्रिय क्षयरोग कार्यक्रममा नौ सय ४२ जनामा औषधि प्रतिरोधी क्षयरोग पहिचान भएको थियो भने छ सय ५९ जना मात्र उपचारमा थिए । विश्व स्वास्थ्य सङ्गठनको वार्षिक प्रतिवेदन २०२२ अनुसार सन् २०२१ मा संसारभरि ६० लाख पुरुष, ३४ लाख महिला र १२ लाख बालबालिका गरी एक करोड छ लाख मानिस क्षयरोगबाट ग्रसित हुने गरेका छन् । सन् २०२१ मा करिब १६ लाखको क्षयरोगका कारण विश्वभरि मृत्यु भएको थियो ।
नेपाल सरकारले आगामी आव २०८२÷८३ सम्म क्षयरोग अन्त्य गर्ने लक्ष्य लिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले क्षयरोग अन्त्यका रणनीतिलाई निर्देशक सिद्धान्त मानी पञ्चवर्षीय रणनीतिक योजना २०७८-७९-२०८२-८३ तयार गरी कार्यन्वयनमा ल्याएको छ ।
रणनीतिक योजनाले गुणस्तरीय क्षयरोग सेवाको विस्तार, देशका विभिन्न स्थानमा क्षयरोग प्रेषक प्रयोगशालाको स्थापना, माइक्रोस्कोपिक केन्द्रको विस्तार, केन्द्रीयस्तरमा निर्माण सम्पन्न भएका छातीरोग अस्पतालको सञ्चालन, सातवटै प्रदेशमा क्षयरोग उपचार केन्द्र स्थापना र क्षयरोग रोकथाम तथा उपचार सेवाको विस्तारलगायत छन् ।