प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सुरक्षाका लागि आम नागरिकमा देशप्रतिको जिम्मेवारीबोध र एकताको भावना विकास गर्दै जानुपर्ने बताएका छन ।
आज राष्ट्रिय सुरक्षा तालिमको समापन समारोहमा उहाँले राष्ट्रिय सुरक्षाको विषय सैनिक शक्ति मात्रै हो भन्ने परम्परागत दृष्टिकोणबाट व्यापक र फराकिलो भइसकेको बताएका छन ।
प्रत्येक राष्ट्रले आ–आफ्नो मूल्य–मान्यता र मूल नीतिमा आधारित रहेर राष्ट्रिय सुरक्षालाई सुदृढ बनाउन लागिपरेको बताउँदै उहाँले राष्ट्रिय सुरक्षा राजनीतिक, सामाजिक, आर्थिक एवं भौगोलिकलगायत अन्य सबै पक्षको समग्र सुरक्षा भएकोमा जोड दिएका छन ।
प्रधानमन्त्री दाहालले आन्तरिक एवं बाह्य सुरक्षा चुनौतीको समयमा नै पहिचान, विश्लेषण गरी प्रतिरक्षा नीति, आन्तरिक सुरक्षा तथा सार्वजनिक सूचना नीति, परराष्ट्र नीति तथा अर्थ नीति तर्जुमा गरी राष्ट्रिय सुरक्षा सुदृढ बनाउन टेवा पुग्ने विश्वास व्यक्त गरेका छ्न्।
वर्तमान समयमा विभिन्न सुरक्षा चुनौतीको सामना गर्नु परिरहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले देशको भू–राजनैतिक अवस्थिति, अन्तर्राष्ट्रिय एवं क्षेत्रीय रुपमा शक्ति राष्ट्रहरुको सामरिक सामथ्र्यको बढोत्तरी, प्रतिस्पर्धा एवं प्रभाव, सीमा विवाद, जलवायु परिवर्तनका साथै आन्तरिक रुपमा विद्यमान रहेको राजनीतिक जटिलताका चुनौती देखापरेको बताएका छन ।
सो अवसरमा नेपाली सेनाका प्रधानसेनापति, विभिन्न मन्त्रालयका सचिव, सुरक्षा निकायका प्रमुख, तालिममा सहभागी नेपाल सरकार तथा अन्य निकायका वरिष्ठ अधिकृतलगायतको सहभागिता थियो ।