काठमाडौं। कप्तान फाफ डु प्लेसिस र विराट कोहलीको उत्कृष्ट ब्याटिङको सहयोगमा रोयल च्यालेन्जर्स बेंग्लोरले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ मा विजयी सुरुआत गरेको छ।
बेंग्लोर घरेलु मैदान एम चिन्नास्वामी अन्तराष्ट्रिय क्रिकेट मैदानमा घरेलु टोलीले मुम्बई इन्डियन्सलाई ८ विकेटले हराउँदै सानदार विजयी सुरुआत गरेको हो । आईतबार राती भएको खेलमा मुम्बईले दिएको १ सय ७२ रनको लक्ष्य बेंग्लोरले १६ ओभर २ बलमा २ विकेट गुमाउँदै पूरा गर्यो ।
बेंग्लोरका लागि कप्तान फफ डु प्लेसिस तथा पूर्व कप्तान विराट कोहलीले अर्धशतक बनाए। कोहली ४९ बलमा ६ चौका र ५ छक्कासहित ८२ रनमा अविजित रहँदा फाफ ४३ बलमा ५ चौका र ६ छक्कासहित ७३ रनमा आउट भए ।
पहिलो विकेटका लागि कोहली र डु प्लेसिसले १ सय ४८ रनको शतकीय साझेदारी गरेका थिए। ग्लेन म्याक्सवेल ३ बलमा २ छक्कासहित १२ रनमा अविजित रहे। मुम्बईका क्यामरन ग्रीन र अर्शद खानले समान १र१ विकेट लिए। त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७१ रन बनाएको थियो ।
मुम्बईका लागि तिलक बर्मा ४६ बलमा ९ चौका र ४ छक्कासहित ८४ रनमा अविजित रहे । निहाल वाधिराले १३ बलमा २१ तथा अर्सद खानले ९ बलमा अविजित १५ रन बनाए।
काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ मा आज सोमबार एक खेल हुदैछ ।
आजको खेलमा चेन्नाई सुपर किंग्स र लखनउ सुपर जायन्ट्सबीच प्रतिस्पर्धा हुँदैछ ।
खेल नेपाली समय अनुसार बेलुका पौने ८ मा चेन्नाईको घरेलु मैदान एमए चिदम्बरम क्रिकेट स्टेडियम चेन्नाईमा सुरु हुनेछ।
यस सिजनको दोस्रो खेल खेल्न लागेका दुवै टोलीका लागि यो खेल महत्वपुर्ण रहेको छ । सानदार सुरुआत गरेको लखनउ दोस्रो जितको खोजीमा रहेको छ ।
पहिलो खेलमा आफ्नै घरेलु मैदानमा दिल्ली क्यापिटल्स माथी ५० रनको सानदार जित निकालेको लखनउ आजको खेलमा पनि सोही लयलाई निरन्तरता दिन चाहन्छ ।
पहिलो खेलमा जित हात पारेको लखनउ २ अंकका साथ १० टोली सहभागी लिगको दोस्रो स्थानमा रहेको छ ।
उता चेन्नाईले भने पहिलो खेल नै हारबाट सुरुआत गरेको थियो । उद्घाटन खेलमा गुजरात टाईटन्ससँग ५ विकेटले पराजित भएको थियो । घरेलु मैदानमा चेन्नाई पहिलो जितको खोजीमा रहने छ ।
पहिलो खेलमा हार सहित चेन्नाई अंकबिहिन रुपमा सातौं स्थानमा रहेको छ ।
नेदरल्यान्ड्ससँगको अन्तिम एकदिवसीय अन्तराष्ट्रिय खेलसँगै लखनउका क्विटन डि कक आईतबार राती नै चेन्नाईको लागि उडेका छन् । तर, आजको खेलमा भने उनको उपलब्धता हुने सम्भावना छैन ।
दिल्लिविरुद्धको पहिलो खेलमा ओपन गरेका कायल मेयर्सले नै लखनउ ईनिङको सुरुआत गर्ने छन् ।
चेन्नाईमा पनि दक्षिण अफ्रिकाका सिसन्डा मंगला तथा श्रीलंकाका महेश थिक्सना र मथिसा पथिराना उपलब्ध रहने छैनन् ।
चेन्नाईको पिचलाई स्पिन मैत्री मानिन्छ । भर्खरै यहाँ भएको भारत र अष्ट्रेलियाबीचको एकदिवसीय खेलमा १८ मध्ये ११ विकेट स्पिनरले लिएका थिए ।
हेड टु हेड :
चेन्नाई र लखनउबीच हालसम्म १ मात्र खेल भएको छ । जसमा लखनउ अपराजित रहेको छ ।