काठमाडौं । प्रतिनिधिसभाका सांसदहरुले एकल महिलाबाट जन्मेको बच्चाको मावलीको नभई आमाको थरबाटै जन्तदर्ता गर्ने व्यवस्था गर्नुपर्ने माग गरेका छन्। प्रतिनिधिसभाको शुक्रवारको बैठकको शून्य समयमा बोल्दै सांसदहरुले सरकारले हालै जारी गरेको एकल महिलाबाट जन्मेको बच्चालाई मावलीको थर राखी जन्मदर्ता दिने व्यवस्थाप्रति असहमति जनाउँदै सो धारणा व्यक्त गरेका छन् ।
बैठकमा सांसद विद्या भट्टराईले एकल महिलाबाट जन्मिएको बच्चाको मावलीको थरबाट जन्मदर्ता गर्ने विषय नेपालको संविधानको प्रावधानविपरीत रहेको बताइन्। सांसदद्वय सुशीला थिङ र सुशीला श्रेष्ठले पनि एकल महिलाबाट जन्मिएका बच्चाको मावलीको थर राख्ने प्रावधानप्रति असहमति प्रकट गर्दै यसमा आमाको थर भन्नुपर्ने माग गरेका छन् ।
फरक विषयमा सांसद विजुला रायमाझीले अर्घाखाँचीमा बेमौसमी वर्षाले पु¥याएको क्षतिप्रति जानकारी गराउँदै उचित राहतका लागि सरकारको ध्यानाकर्षण गराइन्। सांसद विना लामाले गाउँपालिकाहरुमा सानो उपचारका लागि पनि ठूलो खर्च गरेर ठूला सहर धाउनुपर्ने बाध्यता हटाउन माग गरिन्। सांसद विराजभक्त श्रेष्ठले यही चैत २१ गते चितवनमा हात्तीको सुँड काटिएको जानकारी गराउँदै दोषीलाई कारबाही गरी हिंसारहित पर्यटनतर्फ सरकारको ध्यानाकर्षण गराए।
सांसद शान्ति विकले अझै जातीय विभेद यथावत् रहेको अवस्थामा यसमा संलग्न दोषीलाई कडा कारबाही गर्न माग गरिन्। सांसद शान्ति श्रेष्ठले जोरपाटी क्षेत्रमा चार पुल जीर्ण र साँघुरो भएको जानकारी गराउँदै नयाँ पुल निर्माणका लागि सरकारको ध्यानाकर्षण गराइन्।
सांसद शिव नेपालीले पोखरादेखि मुग्लिनसम्म सडक खण्ड स्तरोन्नति गर्ने क्रममा उड्ने धुलोले सर्वसाधारणको स्वास्थ्यमा असर पारेकाले शीघ्र निर्माण कार्य सम्पन्न गर्न माग गरे। सांसद शिशिर खनालले टोखा क्षेत्रमा बाटो निर्माणका क्रममा खानेपानीको पाइपमा भएको क्षतिले स्थानीय बासिन्दा खानेपानीबाट वञ्चित भएको अवगत गराउँदै सो समस्या तत्काल समाधानका लागि माग गरेका छन् ।
सांसद शेरबहादुर कुँवरले पुँजीगततर्फको बजेट नै कम भएपछि विकासका गतिविधि प्रभावित हुने भएकाले यसमा बजेटको र खर्चको उचित व्यवस्था गर्न माग गरे। सांसद शोभा ज्ञवालीले मिटरब्याज पीडित पश्चिम तराईमा पनि रहेको बताउँदै यो समस्या समाधान गर्दा कुनै पनि विषयबाट प्रभावित हुन नहुनेमा जोड दिएका छन् ।
सांसद शङ्कर भण्डारीले सिन्धुलीगढीमा देशको रक्षाका लागि लडेका वीरयोद्धाको उचित कदर गर्न सरकारसँग माग गरे। सांसद सरस्वती बजिमयले खोटाङ हलेसी क्षेत्रमा बाटो निर्माण तथा स्तरोन्नति गरी जोखिम नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
सांसद सरिता भुसालले पश्चिम नवलपरासीका केही क्षेत्र गुगल नक्सामा भारतको नक्सामा देखिएको भन्दै यसबाट जनताले राज्यबाट लिने सेवा प्रभावित हुनुपरेको अवस्थामा समाधानका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।
सांसद सुनिता बरालले कृषि क्षेत्रमा युवालाई संलग्न गराउन तथा आशामुखी बनाउन उत्पादनसँग जोड्ने कार्यक्रम ल्याउनपर्ने सरकारसँग माग गरिन्। सांसद सुमना श्रेष्ठले यसअघिको साझा न्यूनतम कार्यक्रममा आफ्नो पार्टीले दिएका सुझाव समेटिएको भए पनि बिहीवारको नयाँ साझा न्यूनतम कार्यक्रमबाट हटाइएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
सांसद सञ्जय गौतमले आफ्नो जिल्लामा १० वर्षदेखि पुल बनाउन माग गरे पनि अझै निर्माण नभएको भन्दै शीघ्र निर्माणका लागि आग्रह गरे। सांसद ज्ञानबहादुर शाहीले सरकारले आन्तरिक उद्योगलाई बढावा दिने नीति ल्याउन माग गरेका छन् ।
सांसद हरि ढकालले शून्य समयमा बोलेका कुरा सरकारले नसुनेको भन्दै एक मिनेट मौनधारण गरे। सांसद ज्ञानेन्द्र बहादुर कार्कीले सुनसरी कोशी गाउँपालिकामा सिँचाइका लागि उचित प्रबन्ध गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् ।