चीनको राजधानी बेइजिङमा रहेको एक अस्पतालमा आगलागी हुँदा २१ जनाको मृत्यु भएको छ । स्थानीय समय अनुसार हिजो दिउँसो करिब एक बजे चाङफेङ अस्पतालको इनपेसेन्ट विमागको भवनमा आगलागी भएको हो ।
अग्नि तथा उद्धार विभागका अनुसार दिउँसो झण्डै साडे १ बजे आगो निभाइएको थियो । अस्पतालबाट ७१ जना विरामीलाई सकुशल उद्दार गरिएको छ । घटनाको कारणबारे अनुसन्धान भइरहेको जनाइएको छ ।
हिजो दिउसो एक्कासी आगलागी भएपछि बहुतल्ले अस्पताल भवन भित्रै विरामी तथा स्वास्थ्यकर्मी थुनिएका थिए । मुख्य प्रवेशद्धारमै आगलागी भएपछि भित्र थुनिएकाहरुलाई झ्यालबाट डोरीको माध्यमले उद्दार गरिएको थियो ।
बेइजिङ चाङफेङ अस्पतालको इनपेशेन्ट विभागको पूर्वी भागमा लागेको आगो निभाउन आकस्मिक टोलीले व्यवस्थापन गरेको सीजीटीएन र अन्य सञ्चारमाध्यमहरूले जनाएका छन् ।
मंगलबार अबेरसम्म अस्पतालका अधिकांश भवनमा विद्युत अवरुद्ध भएको थियो । आगलागीका कारण भवनको बाहिरी भाग कालो भएको र ठाउँठाउँमा जलेको देखिएको छ । मृतकमध्ये कति बिरामी थिए भन्ने यकिन हुन सकेको छैन । साथै घाइतेको संख्याका विषयमा आधिकारिक जानकारी दिइएको छैन ।