रुपन्देही- निजी स्वामित्वमा नेपालमै पहिलो पटक अन्तराष्ट्रिय स्तरको क्रिकेट मैदान निर्माण हुने भएको छ । रुपन्देहीको तिलोत्तमामा ४० करोड रुपैयाँको निजी लगानीमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान निर्माण हुन लागेको हो ।
गुल्मीको मदाने गाउँपालिका ४ काभ्रे घर भई हाल अष्ट्रेलियाको सिड्नीमा व्यवसाय गर्दै आउनुभएका ईं. बिनोद कुवँरले एकल लगानीमा तिलोत्तमा नगरपालिका वडा नम्बर १७ दरखसवामा एक्स्ट्राटेक ओभल क्रिकेट मैदान बनाउन लाग्नुभएको हो ।
मैदानको एक कार्यक्रमकाबीच शिलान्यास गरिएको छ । मैदानको तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले शिलन्यास गर्नुभयो । उहाँले क्रिकेट मैदान निर्माणका लागि स्थानिय सरकारको तर्फबाट आवश्यक सबै सहयोग गर्ने बताउनु भएको छ ।
पौने ५ बिघा जग्गा किनेर मैदान निर्माणको प्रक्रिया अगाडि बढाइएकोमा थप जग्गा खरिदको प्रक्रिया जारी रहेको एक्स्ट्राटेक ओभल प्रालिका निर्देशक विनोद कुँवरले बताउनु भयो । पहिलो वर्ष ५ हजार दर्शक क्षमताको रङ्गशाला बनाइने र प्रत्येक वर्ष ५ हजार दर्शक क्षमता थप्दै ४ वर्षभित्र २५ हजार दर्शक क्षमताको क्रिकेट रङ्गशाला बनाउने योजना रहेको कुँवरले बताउनु भयो । एक्स्ट्राटेक ओभल क्रिकेट रङ्गशाला बनाउन ४० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
कुँवरले सरकारले एउटा राम्रो अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउन नसकेको र चितवनको भरतपुरमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदान अलपत्र परेको अवस्थामा आफूले एकल लगानीमा मैदान निर्माण सुरु गरेको बताउनु भयो । मैदान निर्माणको लागि अहिले नै रकम सुनिश्चित गरिएको उहाँको भनाइ छ ।
एक्स्ट्राटेक ओभल प्रालि र यसका निर्देशक कुँवर तथा चिफ अपरेटिङ अफिसर सुदीक्षा गौतमले रङ्गशाला निर्माणको स्वामित्व लिएर काम अगाडि बढाएका छन् । एक्स्ट्राटेक अस्ट्रेलियाको सिड्नीमा अवस्थित आईटी ट्रेनिङ इन्सिच्युट हो ।
पूर्व राष्ट्रिय क्रिकेट खेलाड़ी शक्ति गौचन एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको ब्रान्ड एम्बेस्डर छन । यो क्रिकेट रङ्गशालामा होस्टलसहितको एकेडेमी र ट्रेनिङ सेन्टर रहने छ भने शक्ति गौचनलाई यसको जिम्मेवारी दिइएको छ । रङ्गशाला कम्पाउन्डमा चार तलाको भवन बनाएर एक सय जनालाई एकेडेमीमा राखेर प्रशिक्षण दिइने योजना रहेको निर्देशक कुवँरको भनाई छ ।
यूएईमा लामो समय बसेर अवुधाबीको शेख जायेद अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा क्युरेटरको जिम्मेवारी लिएका माधव पाठक एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको क्युरेटरको भूमिकामा रहनुहुनेछ ।