गुल्मी- स्मार्ट कृषि गाउँ कार्यक्रम लागु भएपछि छत्रकोटमा व्यवसायिक रुपमा कृषि खेती गर्नेहरुको संख्या बढ्दै गएका छन् । गुल्मी जिल्लाको हुँगामा युवाहरुले गाउँमै केही गरे सफल भइन्छ भन्ने उदारणीय बनेका छन् ।
जिल्लाको छत्रकोट गाउँपालिकामा व्यवसायिक रुपमा कृषि गर्नेहरुको संख्या बढ्दै गएको छ । कृषि पेसाबाटै राम्रो सम्भावना बोकेर एउटै गाउँमा ६० जना भन्दा बढि व्यवसायिक रुपमा कृषि गर्दै आएका हुन् ।
कृषि ज्ञानकेन्द्र गुल्मीको सहयोगमा छत्रकोटको वडानम्बर १ हुँगामा स्मार्ट कृषि गाउँ कार्यक्रम लागु भएपछि व्यावसायिक रुपमा तरकारी खेती गर्दै आएका हुन् । छत्रकोट र रेसुङ्गा नगरमा कृषकले गरेका र गर्न लागिएको चक्लाबन्दीमा सुन्तला, कागती खेती र बन्दा, काउली, टमाटर, काक्रो, रातो मूलालगायत बिभिन्न तरकारी खेतीको अवलोकन गरिएको छ ।
कृषि ज्ञानकेन्द्रको आयोजनामा जिल्ला समन्वय समिति प्रमुख दोर्ण, प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसी, जिल्ला स्थित बिभिन्न कार्यालयका प्रमुखहरुको सहभागितामा तरकारी खेतीको अबलोकन गरिएको हो ।
अनुगमनका क्रममा कृषकका समस्या र आगामी दिनहरुमा गर्न लागेका कार्यक्रमहरुको बारेमा छलफल समेत गरिएको कृषि ज्ञानकेन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले बताउनुभयो ।
कृषि ज्ञानकेन्द्रको बिभिन्न खाले सहयोगले गर्दा कृषि पेसामा लाग्नेहरुको संख्या बढदो छ । तरकारी खेती हेर्नको लागि हुँगामा जानुपर्छ भन्ने त्यहाँका कृषकको मेहनतले दर्साएको छ ।
हुँगामा चार वर्ष पहिलेदेखि स्मार्ट कृषि गाउँ कार्यक्रम लागू गरेर कृषिका समस्या पहिचाहन र कृषकलाइ व्यवसायीक बनाउने कार्य गर्दै आएको कृषि ज्ञानकेन्द्र प्रमुख भण्डारीले बताउनुभयो । स्मार्ट कृषि गाउँमा तरकारी खेतीसँगै पशुपालन पनि गर्दै आएका छन् ।
हुँगामा संचालित स्मार्ट कृषि कार्यक्रम अब सहकारीमा परिणत हुँदैछ । त्यहाँका कृषकले सयौं रोपनी जग्गामा तरकारीकारी खेती गर्दै आएका छन् । हुँगामा १ सय ५० रोपनीमा तरकारी खेती गर्दै आएका युवा भुवन खरालले यसवर्ष ४० लाखको तरकारीको कारोबार गर्ने बताउनुभयो ।
उहाँले अहिले १५ जनालाई रोजगारी समेत प्रदान गर्नुभएको छ । खराल जस्तै अन्य कृषकहरु पनि अहिले व्यवसायिक रुपमा तरकारी खेती उत्पादन गर्दै आएका छन् ।
उत्पादित तरकारी गुल्मी जिल्लासँगै छिमेकी जिल्लाहरुमा बिक्री हुने गरेको छ । तरकारी बेच्न कृषककले पैंचो पसलसँग सम्झौता गर्ने गरेका छन् ।