काठमाडौं । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपमा भारत ए विरुद्ध १ सय ६७ रनमा अलआउट भएको छ ।
श्रीलंकाको आर प्रेमदासा रंगशालामा टस जितेर ब्याटिङ रोजेको नेपालले ३९ दशमलब २ ओभरमा १ सय ६७ रनमा अलआउट भयो ।
नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ८५ बलमा ६५ रन बनाए । पौडेलले ७ चौका प्रहार गरेका थिए । गुलसन झाले ३० बलमा २ चौका र २ छक्काको सहयोगमा ३८ रन बनाए ।
नेपाललाई छैटौं विकेटका लागि रोहित र सोमपालले ५३ रनको साझेदारी गरेका थिए । सोमपाल स्पिनर मानव सुथारको बलमा १४ रनमा एलबीडब्लू आउट हुन पुगे ।
नेपालको शीर्षक्रम ब्याटिङ पुन तीव्र गतिका बलर सामु निरिह बन्यो । तीव्र गतिका बलर हर्षित रानाले इनिङको दोस्रो बलमै ओपनर कुशल भुर्तेललाई एलबीडल्लू आउट गरेका थिए । त्यसपछि दोस्रो विकेटका लागि आसिफ शेख र देव खनालले २७ रनको साझेदारी गरेका थिए ।
आसिफ ७ र देव खनाल १५ रनमा आउट भए । देवले २१ बलमा ३ चौका प्रहार गरे ।
भारत ए का लागि निशान्त सिन्धुले ४ विकेट लिए । राजवर्धन हंगागेकारले ३ तथा हर्षित रानाले २ विकेट लिए ।
नेपाल पहिलो जितको खोजीमा हुनेछ । भारत लगातार दोस्रो जितका साथ सेमिफाइनल यात्रा पक्का गराउन चाहन्छ । नेपाललाई सेमिफाइनलको सम्भावना कायमै राख्न यस खेल जित्नै पर्ने हुन्छ ।
नेपाल पहिलो खेलमा पाकिस्तान ए सँग ४ विकेटले पराजित भएको थियो । त्यस्तै भारतले युएई ए लाई ८ विकेटले हराएको थियो ।
गत मेमा नेपालमा भएको एसीसी प्रिमियर कपको विजेता बन्दै नेपाल इमर्जिङ कपका लागि छानिएको हो । टेस्ट राष्ट्र भारत स्वतः छनोट भएको हो ।
नेपालले समूह चरणको अन्तिम खेलमा बुधबार युएई ए सँग खेल्नेछ ।
यस प्रतियोगितामा ६ टोली सहभागीता रहेको छ । सहभागी टोलीहरुलाई दुई समूहमा विभाजन गरिएको छ । हरेक समूहका शिर्ष दुई टोली सेमिफाइनलका लागि छानिने छन् । सेमिफाइनल खेल २१ जुलाईमा हुनेछ ।
सेमिफाइनलका दुई विजेता उपाधीका लागि भिड्ने छन् । फाइनल खेल २३ जुलाईमा रहेको छ ।