गुल्मी- गुल्मी जिल्लाको छत्रकोट गाउँपालिका पोषणमैत्री स्वास्थ्य संस्थायुक्त गाउँपालिका घोषणा भएको छ । गाउँपालिकाले स्वास्थ्य क्षेत्रका सबै सूचकहरु पूरा गरेर पालिकालाई पोषणमैत्री स्वास्थ्य संस्थायुक्त गाउँपालिका घोषणा गरिएको हो ।
पोषणमैत्री स्वास्थ्य संस्थायुक्त गाउँपालिका घोषणा भएको प्रमाणपत्र जिल्ला समन्वय समिति प्रमुख द्रोणबहादुर खत्री र जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख पशुपति आचार्यले छत्रकोट गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेलाई हस्तातरण गर्नुभएको थियो ।
घोषणा कार्यक्रममा स्थानीय पोषणयुक्त खाद्य वस्तु प्रर्दशनसँगै सन्देश मूलक नृत्य गीत प्रस्तुत गरिएको थियो । पोषणमैत्री स्वास्थ्य संस्था युक्त पालिका बनाउन ६ वटै वडामा रहेका स्वास्थ्य संस्थाहरुलाई घोषणा गर्दै सिङ्गो पालिकालाई पनि घोषणा गर्न सफल भएको छत्रकोट गाउँपालिकाका स्वास्थ्य संयोजक श्यमसुन्दर पोखरेलले बताउनुभयो ।
पोषणमैत्री स्वास्थ्य संस्थायुक्त घोषणा गर्ने क्रममा जिल्लाका १२ वटा स्थानीय तहहरुमध्ये छत्रकोट गाउँपालिका तेस्रो स्थानमा परेको छ । यसअघि गुल्मीदरबार र धुर्कोट गाउँपालिकाले घोषणा गरिसकेका छन् ।
पोषणमैत्री स्वास्थ्य संस्था युक्त घोषणा गर्ने कार्य नेपालमै पहिलोपटक गुल्मीदरबार गाउँपालिकाले घोषणा गरेको थियो । छत्रकोट गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा गरेको फड्को प्रति कार्यक्रममा प्रशंसा समेत गरिएको थियो ।
घोषणा सभालाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति प्रमुख खत्रीले पालिकालाई घोषणामा मात्रै सीमित नराख्न आग्रह गर्नुभयो । उहाँले अब आजकै दिनदेखि घोषणा गर्ने अबसरसँगै चुनौती पनि थपिएको बताउनुभयो ।
कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख पशुपति आचार्यले पालिकाले पोषणमैत्री स्वास्थ्य संस्थायुक्त बनाउनको निम्त स्वास्थ्य क्षेत्रका मापदण्ड पुरा गर्न सफल भएकोमा शुभकामना दिनुभयो । उहाँले अब पनि कुनैपनि बेला स्वास्थ्य संस्थाहरुमा अनुगमन गरिने भएकाले यसलाई जोगाई राख्न अझ बढी खटिनुपर्ने बताउनुभयो ।
पोषणमैत्री स्वास्थ्य संस्थायुक्त गाउँपालिका घोषणा गर्नका निमित्त अहोरात्र खटिने स्वास्थ्य संस्था र स्वास्थ्य कर्मीहरुलाई सम्मान समेत गरिएको थियो । पालिका अध्यक्ष रामप्राद पाण्डेले गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा एउटा खुटकिलो चढन सफल भएकोमा खुसी व्यक्त गर्नुभयो ।