-समृद्धा के.सी
काठमाडौं- देशभर दिनप्रति दिन जाडो बढ्दै गईरहेको छ। केही दिनदेखि तराईमा बाक्लो हुस्सु र चिसो हावासँगै शीतलहर समेत सुरु भइसकेको छ। भने पहाडी भेगमा बिहान र बेलुका अत्याधिक मात्रामा चिसो हुदै गइरहेको छ। वर्षेनी जाडोमौसममा शीतलहर र हिमपातका कारण धेरैले ज्यान गुमाइरहेका समाचार हामी सुन्दै आइरहेका छौं ।
गतवर्षको तुलनामा यो वर्ष जाडो बढि हुन सक्ने मौसम बिद्धहरुको अनुमान छ । जाडोमौसममा स्वास्थ्यमा विभिन्न खाले समस्याहरु आउने भएकाले विशेष सावधानी अपनाउँनु पर्ने चिकित्सकहरु बताउँछन् । मुख्यगरी बालबालिका, दिर्घ रोगी र बृद्धबृद्धाहरुले विशेष सावधानी अपनाउँनु पर्ने त्रि.वी. शिक्षण अस्पताल महाजगञ्जका सह प्राध्यपक तथा वरिष्ठ छाती रोग विशेषज्ञ डा.निरज बमले बताए । मानिसको उमेर बढेसँगै शरीरको रोग प्रतिरोधात्मक क्षमता पनि घट्दै जान्छ। जसले गर्दा उनिहरुलाई मौसम परिर्वतन सँगै धेरै खाले रोगहरुले समाउने गर्दछ । चिसोबाट बच्न वृद्धवृद्धाले बाक्लो लुगा लगाउनुका साथै घाम ताप्ते र शरीरलाई न्यानो पारेर राख्नु पर्ने कुरामा उनले जोड दिए ।
डा. बम भन्छन् 'जाडोमा विशेषगरि रुघाखोकि, भाइरल ज्वारो, फोक्सोको संक्रमण, श्वास प्रस्वासमा समस्या र निमोनिया जस्ता समस्याहरु बढ्दै जान्छन् । चिसो बढेसँगै त्रि।वी अस्पतालमा आउँने बिरामीको संख्यामा पनि बृद्धि भइरहको छ ।' उनले 'भने छातीमा समस्या भएका व्यक्ति जसलाई श्वास प्रस्वासमा समस्या भएर अक्सिजन दिनु पर्ने हुन्छ त्यस्ता बिरामीहरुले इर्मेजेन्सि नै भरिभराउ रहेको छ। त्यस्तै वार्डमा पनि बिरामीको चाप छ ।' विशेषगरि सियोपीडी दम भएका ४० वर्ष भन्दा बढि उमेरका बिरामीहरुको संख्या धेरै रहेको बताए ।
कोरोनाले गर्दा बिरामीको चाप घटेता पनि केहि समययता फेरि बिरामीको चाप बढेको उनले बताए । उनले भने ओपीडी सेवा दैनिक सुचारु गर्न नसकेपनि हप्ताको ३ दिन बिरामीहरु हेरिरहेका छौं । यी दिनहरुमा दुई दुई सयको दरले बिरामी हेर्छौं , त्यस मध्ये पनि ७० प्रतिशत चिसोका बिरामी हुन्छन् ।
चिसोबाट बच्नका लागि नागरिक स्वयमं सचेत हुनु पर्ने डा. बमको भनाइ छ । चिसोको समयमा भाइरल फ्लु लागेका मानिसहरुबाट टाढा रहनु पर्छ । जाडोमा झोलिलो र तातो खानेकुरा खानाले स्वास्थ्यलाई बढी फाइदा हुन्छ । घरबाट बाहिर निस्कन परे शरिर छोप्ने कपडा लगाउने मद्यपान र धुम्रपानबाट टाडै रहने , हावा आवतजावत हुने गरि मात्र हिटरको प्रयोग गर्न उनले सुझाव दिए ।
चिसोयाममा शरीरमा तापक्रम बढाउनका लागि सुप, दाल, खिचडी, रेसादार सागपात र तातो पानी पर्याप्त मात्रामा खानु पर्ने हुन्छ ।