काठमाडौं । बागमती प्रदेशमा ‘लम्पी स्किन’ रोगबाट एक लाख बढी पशुचौपाया सङ्क्रमित भएका छन् । लम्पी स्किनको सङ्क्रमणका कारण चार हजार छ सय १८ पशु मरेका प्रदेशस्थित पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार आठ महिनामा १३ जिल्लाका एक लाख ५३ हजार नौ सय पाँच पशु सङ्क्रमित भएका छन् ।
निर्देशनालयका अधिकृत डा. सविना मिश्रले गत पुसदेखि यही साउन ८ सम्म प्रदेशमा एक लाख ५३ हजार पशुचौपाया सङ्क्रमित भएका जानकारी दिइन् । उनका अनुसार सबैभन्दा बढी काभ्रेपलाञ्चोकमा छ सय ८१ र सबैभन्दा कम ललितपुरमा ८९ पशु मरेका छन् ।
सिन्धुलीमा छ सय ५०, धादिङमा पाँच सय १३, मकवानपुरमा चार सय ४६, नुवाकोटमा चार सय ११, सिन्धुपाल्चोकमा तीन सय ६०, काठमाडौँमा तीन सय ५७, भक्तपुरमा दुई सय ९३, चितवनमा दुई सय ४२, रामेछापमा दुई सय २९, दोलखामा एक सय ७४ र रसुवामा एक सय ७३ पशुचौपायाको मृत्यु भएको डा. मिश्रले जानकारी दिइन् ।
सबैभन्दा बढी काभ्रेपलाञ्चोकमा तीस हजार सात सय १४ पशुमा सङ्क्रमण पुष्टि भएको निर्देशनालय कार्यालयले जनाएको छ । कार्यालयको तथ्याङ्क अनुसार सिन्धुलीमा २४ हजार ९०, धादिङमा १६ हजार चार सय ८८, नुवाकोटमा १४ हजार ५९, रामेछापमा १४ हजार तीन सय ९१, मकवानपुरमा १० हजार ९९, सिन्धुपाल्चोक १० हजार एक सय ४८, चितवनमा १० हजार ४४, दोलाखामा सात हजार चार सय ५६, भक्तपुरमा छ हजार चार सय १३, काठमाडौँमा पाँच हजार ३७, रसुवामा एक हजार आठ सय सात र ललितपुरमा एक हजार चार सय ३१ पशुचौपाया लम्पी स्किन रोगबाट सङ्क्रमित भएका छन् ।
सङ्क्रमित हुनेमा गाई एक लाख ४२ हजार सात सय २८, गोरु सात हजार चार सय ९५, भैँसी एक हजार आठ सय ६९ र बाच्छाबाच्छी एक हजार आठ सय १३ रहेका निर्देशनालयका अधिकृत डा. मिश्रले जानकारी दिइन् । उनका अनुसार गाई सबैभन्दा बढी सङ्क्रमित भएका हुन् ।