कास्की- गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मुस्ताङको बारागुङ मुक्ति क्षेत्र कागबेनीमा भेलबाढीबाट बिस्थापित, प्रभावित नागरिकलाई तत्काल सहयोग पठाउन निर्देशन दिनुभएको छ ।
बाढी प्रभावितहरुको उद्धार, उपचार, राहत र पुनस्थापनाको काम प्रदेश सरकारले सुरु गरेको बताउँदै मुख्यमन्त्री पाण्डेले सरकारी, गैरसरकारी संघ संस्था, सुरक्षा निकाय, नागरिक समाज सबैलाई नागरिकको सुरक्षामा केन्द्रित हुन अनुरोध गर्नुभएको छ ।
गएरातिको बाढीले कागबेनी क्षेत्रका घरहरु बगाउँदा सर्वसाधारण बिस्थापित भएपछि दैनिकी असहज बनेको भन्दै मुख्यमन्त्री पाण्डेले आज बिहान प्रदेश विपद् ब्यवस्थापन कार्यकारी समितिको अकस्मिक बैठक राख्नुभएको थियो ।
मुख्यमन्त्री पाण्डेको अध्यक्षतामा बसेको बैठकले राहत ब्यवस्थापन र बाढीबाट भत्किएको संरचना ब्यवस्थित गर्न मेसिन उपकरण तथा सवारी साधनका लागि मुस्ताङमा इन्धन अभाव भएपछि ३ हजार लिटर डिजेल म्याग्दीबाट तत्काल पठाउने निर्णय गरेको छ ।
जिल्ला विपद् ब्यवस्थापन समिति मुस्ताङबाट माग भई आए अनुसार प्रदेश सरकारले टेण्ट, त्रिपाल, ब्ल्याङ्केट पठाउने, बाढी पहिरो क्षेत्रमा हुन सक्ने खानेपानी आपूर्ति, स्वास्थ्य सेवा, खाद्यान्न आपूर्ति, यातायात ब्यवस्थापन, कृषि र पशुजन्य क्षति ब्यवस्थापन, भूसंरक्षण लगायतका कार्यहरुमा गण्डकी प्रदेश सरकारका संम्बन्धित मन्त्रालयहरुबाट आवश्यक समन्वय, श्रोत साधनको परिचालन र सहजीकरण गर्न बैठकले निर्देशन गरेको छ ।
मौसम प्रतिकुल भएकाले हेलिकप्टरबाट कागबेनीमा राहत पठाउन समस्या भएपछि तत्कालका लागि ट्याक्टरबाट इन्धन, कम्बल, टेण्ट लगायतका सामग्री पठाउने निर्णय बैठकले गरेको हो ।
लगातार वर्षात हुँदा बाढी, पहिरोबाट पुगेको क्षतिका बारेमा गण्डकी प्रदेशका ११ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग मुख्यमन्त्री पाण्डेले जानकारी लिनुभएको थियो ।
सोही क्रममा उहाँले प्रदेश सरकारले जिल्ला प्रशासन कार्यालय मार्फत पठाएको बिपद् ब्यवस्थापन कोषको रकम खर्च गरेर बिपद्का विषयमा सर्वसाधारण नागरिकलाई परेको समस्या छिटो समाधान गर्ने गरि अघि बढ्न निर्देशन पनि दिनुभयो ।
थप सहयोग आवश्यक परेमा प्रदेश सरकार तयार रहेको बताउँदै मुख्यमन्त्री पाण्डेले सुरक्षा निकायसहित जिल्लास्थित प्रदेश मातहतका कार्यालयलाई पनि तयारी अवस्थामा रहन निर्देशन दिनुभएको थियो ।।