काठमाडौं । विराटनगरस्थित ग्रिनक्रस अस्पतालबाट असार १४ गते नवजात शिशुलाई वेपत्ता पार्न संलग्न आरोपमा छ जनालाई प्रहरीले पक्राउ गरेको छ ।असार १ गते अस्पतालका चिकित्सक डा.तपेश्वरलाल कर्ण र गोबिन्द राईलाई प्रहरीले नियन्त्रणमा लिएर अदालतबाट थप पाँच दिनको म्याद थप गरि अनुसन्धान गरिरहेको थियो ।
प्रहरीले कटहरी–२ स्थित दिलमाया राजबंशीको साथबाट नवजात शिशुको उद्धार गर्दै रकम लेनदेनमा शिशु वेपत्ता बनाउने थप चारजनालाई मंगलबार नियन्त्रणमा लिएको हो ।
यस अगाडी मंगलबार जिल्ला प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिएका आरोपितहरुलाई सार्वजानिक समेत गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक रन्जनकुमार दाहालका अनुसार पक्राउ पर्नेमा भोजपुर हतुवागढी गाउँपालिका–४ का २७ वर्षीय गोबिन्द राई, विराटनगर–२ घर भई दिपेश मेडिकल हलका सञ्चालक ६८ वर्षीय डा.तपेश्वरलाल कर्ण, विराटनगर–९ ग्रिनक्रस अस्पतालमा कार्यरत कर्मचारी सुधा राजबंशी, कटहरी गाउँपालिका–२ निवासी ४६ वर्षीया दिलमाया राजबंशी, ३० वर्षीय सुर्य नारायण राजबंशी, सिराहा कल्याणपुर नगरपालिका १२ का ३८ निर्मला यादव छन् ।
के थियो घटना ?
ग्रिनक्रस अस्पतालमा गत असार १४ गते २६ वर्षीया अविवाहित युवतीले छोरी जन्माएकी थिइन्। ती युवतीलाई असार १३ गते नै ग्रिनक्रसमा भर्ना गरिएको प्रहरीले जनाएको छ। युवतीबाट जन्मिएकी शिशुको १४ गते नै बिक्री भएको प्रहरी अनुसन्धानले जनाएको छ।
युवती गर्भवती भएपछि उनका प्रेमीले विराटनगरस्थित ग्रिनक्रस अस्पताल नजिकैको एक मेडिकल क्लिनिकमा लगेका थिए। सो क्लिनिक पनि डा. कर्णको रहेको र सोही क्लिनिकमा परीक्षण गरिसकेपछि युवतीलाई प्रसूतिका लागि ग्रिनक्रसमा भर्ना गरिएको प्रहरी अनुसन्धानमा खुलेको छ।
अस्पताल भर्ना हुने क्रममा युवक र युवतीको नामसमेत फरक राखिएको थियो। सुनसरीको रामधुनी नगरपालिका ११ का बासिन्दा मानबहादुर तामाङ र फूलकुमारी तामाङको नाममा अस्पतालमा भर्ना गरिएको थियो।
डेलिभरीपछि युवकले युवती लिएर इटहरी पुगेका थिए। इटहरीमा युवतीलाई छाडेर युवक हिँडेपछि सुत्केरी अवस्थाकी युवती अलपत्र अवस्थामा पुगेकी थिइन्। उनले प्रेमीलाई जन्मिएकी शिशुबारे बुझ्न खोज्दा अस्पतालमा रहेका बताएका थिए।
प्रेमी गुमनाम भएपछि युवतीले आफ्नो शिशु खोज्ने क्रममा प्रहरीसमक्ष किटानी जाहेरी दिएकी थिइन्। डेलिभरी भएपछि अस्पताल तथा त्यहाँ कार्यरत नर्सले शिशु आफूलाई नदिएको गुनासो युवतीले गरेकी थिइन्।
प्रहरीले अनुसन्धान गर्ने क्रममा ३५ हजार रुपैयाँमा डेलिभरी गराएका डा. कर्णसमक्ष सोधपुछ गरेका थिए। डा. कर्णले भने प्रहरीसमक्ष बच्चा अभिभावकलाई बुझाइएको बताउँदै आएका थिए।
डेलिभरी गर्ने क्रममा डा. कर्णले सुरुमा युवतीसमक्ष ५० लाख रुपैयाँ माग गरे पनि ३५ हजार रुपैयाँ लिएर डेलिभरी गरेका थिए।
युवतीले आफ्नो बच्चा खोज्दै अस्पताल पुग्दा अस्पतालका अध्यक्ष कृष्ण खवासले ९ सय ५० ग्राम तौलको शिशुको स्वास्थ्य अवस्था गम्भीर भएको र सुविधासम्पन्न अस्पताल भर्ना गरिएको बताएका थिए।
प्रहरी अनुसन्धानसँगै डा. कर्णको भूमिका शंकास्पद भेटिएपछि प्रहरीले उनी यसप्रकारको घटनामा लामो समयदेखि संलग्न रहँदै आएको खुलेको छ। प्रहरीका अनुसार अवैध रूपमा गर्भपतन गराउने र जन्मिएका शिशुको व्यवस्थापन गराउने जनाउँदै अभिभावकबाट मोटो रकम असुल्ने काममा संलग्न रहँदै आएका छन्।