धार्मिक मान्यता अनुसार परापूर्वकालमा हिमालयपुत्री पार्वतीले शिवलाई आफ्ना पतिका रूपमा पाऊँ भनी निर्जल उपवास बसेको र त्यसपछि उनको शिवजीसँग विवाह भएको मान्यता छ । पार्वतीले भाद्र शुक्ल तृतीयामा व्रत गरी आफ्नो कामना पूर्ण गर्न सफल भएकाले व्रत, उपवास, भजन, कीर्तन र नाचगानलाई अनुसरण गर्दै विवाहित महिलाले आफ्ना पतिको दीर्घायु एवं अविवाहित महिलाले योग्य वर पाऊँ भनी तिजको व्रत बस्ने गरेको पाइन्छ ।
समय क्रमसँगै विकृत बन्दै तिज
खानामा, गीतमा र सम्बन्धमा मौलिक मिठास भर्ने गौरव बोकेको संस्कृति तिज अहिले खोक्रो हुँदै गएको छ । समय अनुसार मनाइने विधि, विधान तथा शैली र मान्यता फरक हुँदै गएका छन् । निराहार व्रत र दरको भुमरीमा तिज भए पनि मूलतः नेपालमा हरितालिका तिज पर्व लिच्छवि कालदेखि नै चलेको बताइन्छ । तिजमा गरगहनाले सजिनु पर्छ भन्ने न धार्मिक मान्यता छ न त आवश्यकता नै हो । स्वयम् शिवले पार्वतीलाई गरगहना दिएका पनि थिएनन् र पार्वतीले पनि गरगहना लगाएको देखिँदैन । स्वतन्त्रताको प्रतीक तिजमा गरगहनाको नाममा पुरुषको दोहन तथा अधीनमा रहने बनाइयो ।
तिज मनका भावना पोख्न वाक् स्वतन्त्रता दिने चाड पनि हो । तिजमा पहिले पहिले घरायसी, सामाजिक बन्धनसँग सम्बन्धित गीत हुन्थे तर २०४६ को परिवर्तनपश्चात् राजनीति, घटना, दुर्घटना, नारी सचेतना र महिला सशक्तीकरणमा गीतहरू बजारमा आए र आउने क्रम जारी छ । भावनात्मक गीतबाट तर्कशील तिज गीत गाउने भएका छन् । मानव मनलाई सुखका गीतले भन्दा दुःख भरिएका गीतले छिटो छुने भएकाले दुःख, असन्तुष्टि भरिएका गीत बजारमा आउँछन् । गीतमा लोग्ने र सासुलाई गाली गर्ने प्रवृत्ति पनि बढ्दै गएको छ तर समय परिवर्तन भएको छ, आजकल धेरै बुहारीले सासु तथा श्रीमान्लाई सताउँछन् ।
तिजका गीत नारीका शारीरिक बनावट, अश्लील र यौनबारे घोचपेच गर्ने, यौन कौतुहलता, फेसन बढी रत्यौली गीत बनेका छन् । मौलिक मूल्य मान्यतालाई कुल्चेर उपभोगवादी, यौनिकता र पूर्ण रूपले उपयोगको साधन र परनिर्भर बनाई होच्याउने संस्कृति बनेको छ । महिलाको पर्व तिज हकहित, स्वाभिमान, आत्मनिर्भरता, पहिचान, अधिकार, आत्मसम्मान र स्वतन्त्रताको पर्वमा पुरुषनिर्भर गीतमा रमाइरहेका छन् ।
केही वर्षयता व्रतको अघिल्लो दिन खाइने दरको स्वरूपमा परिवर्तन हुँदै आएको छ । पहिले खिर, शाकाहारी खाद्य पदार्थलाई दरका रूपमा प्रयोग गरिन्थ्यो भने अहिले समयव्रmमसँगै मासुजन्य पदार्थ, रक्सीजन्य पदार्थ र मिठाइमा बढोत्तरी भएको छ । खानाबाट विभिन्न रोग लागेर अस्पताल नै धाउने धेरै भएका छन् । मासुका पनि विभिन्न काँचो, अर्धकाँचो परिकार तथा तारेको, भुटेको परिकारमा वृद्धि भएको छ भने मिठाईमा बजारमा पाइने रङ्गिन, बुट्टेदार मिठाईमा बढोत्तरी भएको देखिन्छ ।
कामकाजी र व्यस्त महिला भएर होला, घरमा आफैँ बनाउने, पकाउने नगरी तयारी अवस्थाका मासुजन्य तथा मिठाईजन्य परिकार किनेर तिज मान्ने चलन फेसन भइसकेको छ । अशुद्ध मासु खाँदा सर्ने रोगहरूमा फित्ते किराहरू– टिनिया सोलियस, टिनिया साजिनाटा, ट्राकिनेल्ला स्पाइरलिस र फ्यासकिओला हेपाटिका, ब्याक्टेरियल सङ्व्रmमणमा एन्थ्राकस, एकटिनोमाइकोसिस, क्षयरोग र खाद्य विषाक्तता वा फुड प्वाइजनिङ पर्दछन् । मासु मात्र खाँदा कब्जियत हुन सक्ने भएकाले मासुसँग फलफूल तथा सलाद पनि सेवन गर्नु पर्दछ ।
मोटो शरीर, रगतमा कोलेस्ट्रोल बढी, उच्च रक्तचाप तथा मुटुका रोगीका लागि मासु खानै नहुने होइन तर बढी बोसोयुक्त रातो मासु खानु हुँदैन । स्वास्थ्यका दृष्टिले हेर्ने हो भने राँगा, खसी, बङ्गुर आदिको रातो मासुभन्दा कुखुरा, माछा आदिको सेतो मासु राम्रो हुन्छ । धेरै चिल्लो तथा मसला हालेको मासुले अपच गराउने तथा मुखमा अमिलो पानी आउने, डकार आउने, पेट पोल्ने समस्या ल्याउँछ ।
हरेक चाडबाडमा पसलका मिठाईहरू किन्ने चलन बढ्दो छ तर हिजोआज बजारमा उपलब्ध विभिन्न प्रकारका मिठाईसँगै रोग पनि किनिरहेका छौँ । किनभने कतिपय मिठाईमा विभिन्न प्रकारका रङ तथा एडिटिभ पिर्जरभेटिभहरू प्रयोग गरिएका खानेकुरा खाँदा कतिपय अवस्थामा प्रत्यक्ष हानि गर्ने त केहीमा स्वास्थ्यमा दीर्घकालीन असर पर्दछन् ।
तिज र स्वास्थ्य
यस्ता खाद्य पदार्थ सेवन गर्दा पेट गडबड गराउनुका साथै पखाला लाग्न सक्छ । रातो रक्तकोष नष्ट हुन्छ, रगतको कमी हुने रोग लाग्छ । रोगसँग लड्ने क्षमता घट्छ, भित्री कोमल अङ्गहरू जस्तै ः कलेजो, मुटु, मिर्गाैला कमजोर हुन्छन् । क्यान्सर हुने सम्भावना बढेर जान्छ । चर्मरोग लाग्ने प्रबल सम्भावना हुन्छ । बाझोपन हुन सक्छ । आँखा, कान कमजोर हुन सक्छ । सन्तान लुला, लङ्गडा एवं अपाङ्गता भएका हुन सक्छन् । सन्तानलाई ट्युमर, क्यान्सर हुन सक्छ ।
उपवास श्रद्धा र भक्तिभावका लागि मात्र नभएर स्वास्थ्यका लागिसमेत लाभदायक छ । संस्कृतमा व्रत भन्नाले भक्ति वा सङ्कल्प र उपवास भन्नाले भगवान्को नजिक बुझाउँछ ।
उपवासले प्रतिरोधात्मक क्षमता बढाउँछ, न्युराल्जिया, कोलाइटिस, थकान, कब्जियत, कोलाइटिस, टाउको दुख्नेको सम्भावना कम, तौलमा सन्तुलन ल्याउँछ । ब्रेन डिराइभ्ड न्युट्रोफिल फ्याक्टर नामक प्रोटिनको वृद्धि भई मस्तिष्कको कार्यक्षमता बढाउँछ । स्मरण शक्तिमा वृद्धि गराई अल्जाइमर रोगबाट समेत बचाउँछ । पार्किन्सन हुने सम्भावना घटाउँछ । पाचन प्रक्रियालाई आराम दिई पाचन शक्तिलाई बलियो बनाउँछ । मनलाई शान्त, उल्लासमय र स्पूmर्ति बनाई आत्मशक्तिमा वृद्धि गरी तनाव घटाउँछ ।
बिरामी, साना नानी भएका, स्वास्थ्य अवस्था कमजोर भएका, गर्भवती र वृद्धाहरू व्रत बस्नु नराम्रो हुन्छ । ग्यास्ट्रिक, अल्सर, मुटुरोगका बिरामीले व्रत बस्न हुँदैन । निको भइसकेका उक्त रोग पनि व्रत बस्दा समस्या पुनः बल्झिन्छन् । निराहार बस्दा तथा पानी नखाँदा स्वास्थ्यमा पानी नभई ग्यास्ट्रिक हुने, मिर्गाैला बिग्रने हुन्छ । पहिलेदेखि नै दीर्घरोग भएका कमजोरी महिलाले त झन् व्रत नबस्नु नै राम्रो हुन्छ ।
मधुमेहको औषधी लिइरहेकाले व्रत बस्न हुँदैन, किनभने केही नखाँदा हाइपोग्लेसिमिया– चर्काे पसिना, मुटु भड्किने, आँखा धमिलो हुने, बेहोस भई ढल्ने जोखिम रहन्छ । रक्तचाप कम भएकाहरूले व्रत बस्दा, बढी नाच्दा, गाउँदा शरीरमा नुनको मात्रा र जलवियोजन भएर अझै रक्तचाप कम भई ढल्ने सम्भावना रहन्छ । मुटु, फोक्सो वा कुनै दीर्घरोगको औषधी खाएका, रगतको कमी भएका वा रगतसम्बन्धी समस्या देखिएका महिला तथा भर्खरै शल्यव्रिmया गरेकाहरू तथा गर्भवती, सुत्केरी जसलाई बढी क्यालोरी तथा बच्चालाई स्तनपान गराउनुपर्ने भएकाले व्रत बस्न हुँदैन ।
अन्त्यमा, सुखद दाम्पत्य जीवन एवं असल जीवनसाथी महिलाका लागि मात्र होइन पुरुषका लागि पनि आवश्यक भएकाले एकअर्कालाई बुझी शरीरको अवस्था हेरी उपवास बस्ने, नबस्ने तथा चाडपर्वमा खानपान, जीवनशैलीलाई स्वास्थ्यमैत्री, परिवार र समाजमैत्री बनाउन जरुरी छ ।