काठमाडौं । मानिसको आँखामा लाग्ने रोग शापुले दृष्टिविहीन बनाउन सक्ने एक अध्ययनले देखाएको छ । नेपालको मध्यपहाडी क्षेत्रमा हुने यो रोग सेतो पुतलीबाट सर्ने गरेको अनुसन्धानबाट पत्ता लागेको हो ।
बढी मात्रामा बच्चाहरूमा लाग्ने यो रोग युवादेखि वृद्धासम्ममा लाग्ने गरेको नेत्ररोग विशेषज्ञले बताउने गरेका छन् । नेपालमा मात्र हुने यो शापु रोग बच्चाका लागि निकै खतरनाक मानिएको छ ।
विशेषगरी भदौदेखि मङ्सिरसम्म महामारीका रूपमा देखिने यो रोग समयमा नै आँखा अस्पताल पुग्न नसके आँखाको ज्योति गुम्न सक्ने डाक्टरहरू बताउँछन् । रोगको लक्षण देखिएको २४ देखि ४८ घण्टाभित्र उपचारका लागि अस्पताल पुग्नुपर्ने डाक्टरहरू बताउँछन् ।
शापु रोगका लक्षण
रिर्सच सेन्टरका अनुसार शापु रोग लागेमा एक्कासी एउटा आँखा रातो हुने, चिप्रा नलाग्ने, उज्यालोमा हेर्न नसक्ने, आँखाको दृष्टिमा कमी आउने, आँखा दुख्ने, समयमा उपचार नपाए कालोमा सेतो देखिने गर्दछ ।
मानिसमा यस्ता लक्षण देखिए तुरुन्त नजिकको आँखा अस्पतालमा पुग्नुपर्ने स्वास्थ्य विशेषज्ञ बताउँछन् ।
शापुबाट जोगिने
यो रोगबाट जोखिनका लागि मानिस सेतो पुतलीको संसर्गबाट टाढै बस्नुपर्ने विशेषज्ञ बताउँछन् । उनीहरुले रातिको समयमा बत्तीमा आउने सेतो पुतलीले मानिसको आँखामा संसर्ग हुनपुगे मात्र यो रोग लाग्ने भएकाले पुतलीबाट टाढा रहनु नै उत्तम रहेको बताएका छन् ।
रातिमा घरको झ्यालढोका बन्द गर्ने, आफूखुसी औषधि या अन्य कुनै पनि उपचार नगर्ने, रातिमा बत्ती निभाएर सुत्ने, रोगको लक्षण देखिए तुरुन्तै आँखा उपचार केन्द्रमा जानु पर्ने हुन्छ ।