रुकुम पश्चिम– जाजरकोट भूकम्पपछि प्रभावित जिल्ला रुकुम पश्चिममा अस्थायी आवास निर्माणका लागि विभिन्न राजनीतिका दलका नेता र कार्यकर्ता जनश्रमदानमा खटिएका छन् ।
भूकम्पले सबैभन्दा बढी क्षति पुर्याएको तीनवटा पालिका आठबिसकोट, सानीभेरी र चौरजहारीमा जिल्ला स्थित राजनीतिक पार्टीका नेता तथा कार्यकर्ता आवास निर्माणमा लागेका हुन् ।
जिल्लामा क्रियाशिल राजनीतिक पार्टीले दिएको पछिल्लो जानकारी अनुसार रुकुम पश्चिमको प्रभावित क्षेत्रमा साढे पाँच हजार कार्यकर्ता जनश्रमदानमा खटिएको पाइएको छ ।
जस अनुरुप नेकपा माओवादी केन्द्रले मंगलबार देखि चर्किएका घरहरूको भौतिक सामग्री व्यवस्थापन तथा तत्काल अस्थायी टहरा निर्माण गर्ने गरि तीनहजार स्वयंसेवक परिचालन गरेको छ ।
माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माका अनुसार छिटोभन्दा छिटो भूकम्प प्रभावितको टहरा निर्माणलाई जनश्रमदान मार्फत पूर्णता दिने गरि एक महीने अभियान सञ्चालन गरिएको छ ।
”दिनहुँजसो चिसो बढ्दै गएपछि सुत्केरी महिला, बालबालिका र जेष्ठ नागरिक समस्यामा परेका छन् । त्रिपालको बसाइँलाई तत्काल छानोमूनिको आवासमा सार्नेगरि जनश्रमदान अभियानलाई द्रुत गतिमा परिचालन गरिएको छ, ” शर्माले भन्नुभयो ।
माओवादीले तीनवटै पालिकामा केन्द्र देखि स्थानीय वडा तहको पार्टी जिम्मेवारीमा रहेका नेता र कार्यकर्तालाई अस्थायी आवास निर्माणको अभियानमा खटाएको छ ।
यसैगरी नेपाली काङ्ग्रेसले भूकम्प प्रभावित क्षेत्रमा २ हजार बढी कार्यकर्तालाई अस्थायी आवास निर्माणका लागि परिचालन गरिएको जनाएको छ ।
पार्टी सभापति प्रेम प्रकाश ओलीका अनुसार काङ्ग्रेसले अहिलेसम्म २५ वटा अस्थायी टहरा निर्माण गरिसकेको छ । बाँकी निर्माणको क्रममा रहेको ओलीको भनाइ छ ।
यता नेकपा एमालेले भने हप्ता दिन अघिबाटै भूकम्प प्रभावित क्षेत्रमा साढे तीनसय स्वयंसेवक परिचालन गरेको जानकारी दिएको छ ।
लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट आएका स्वयंसेवक र रुकुम पश्चिमका नेता कार्यकर्तालाई एमालेले प्रभावित गाउँ बस्तीमा खटाएको छ ।
एमाले अध्यक्ष नन्दराम देवकोटाले अहिलेसम्म २ सय २५ वटा अस्थायी टहरा निर्माण गरिएको बताउनुभएको छ । यस्तै एमालेले जनश्रमदान मार्फत केही विद्यालयका टहरा र प्रभावित क्षेत्रमा शौचालय समेत निर्माण गरिएको जनाएको छ ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले पनि रुकुम पश्चिमको भूकम्प प्रभावित क्षेत्रमा अहिलेसम्म १३ वटा सुरक्षित अस्थायी टहरा निर्माण गरिएको जानकारी दिएको छ । रास्वपाले अस्थायी आवास निर्माणमा ३० भन्दा बढी स्वयंसेवक परिचालन गरेको छ ।
नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले पनि रुकुम पश्चिमका प्रभावित क्षेत्रमा जनश्रमदानका गतिविधिहरु सुरु गरिएको जानकारी दिएको छ । पार्टी सचिव सुरजकुमार परियारका अनुसार ३० जना स्वयंसेवक मार्फत १० वटा टहरा निर्माण गरिएको छ । जिल्लाका अन्य राजनीतिक दलहरूले पनि अस्थायी आवासका लागि पार्टी पंक्ति मार्फत जनश्रमदानमा स्वयंसेवक परिचालन गरिएको जानकारी दिनुभयो ।
हालसम्म भूकम्प प्रभावित क्षेत्रमा रुकुम पश्चिमका राजनीतिक दलहरूको सक्रियताबाट २ सय ७३ वटा अस्थायी टहरा निर्माण भएका छन् । गत कात्तिक १७ गते जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पबाट रुकुम पश्चिममा ५३ जनाको ज्यान गएको थियो । २६ हजार बढी घर आंशिक तथा पूर्ण रुपमा क्षति भएका थिए ।