काठमाडौ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले एक वर्षको अवधिमा जनतामा आशा जगाउन सफल भएको बताउनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा आयोजना गरेको ‘नेपालको अर्थतन्त्र र शासकीय सुधार’सम्बन्धी अन्तरक्रियामा उहाँले अब सेवा प्रवाह, विकास निर्माण तथा नीति तर्जुमाका क्षेत्रमा नयाँ सुरुवात गरिने बताउनुभएको छ ।
“मैले राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा राष्ट्रको प्रतिष्ठा बढाउने जमर्को गरिरहेको छु । वर्तमान सरकार गठन भएको एक वर्ष पूरा हुँदै छ । अर्को वर्ष नयाँ सुरुआत गर्नुपर्ने छ । जसले जनतालाई नयाँ भरोसा दिन सकोस्, म त्यसको खोजीमा छु”, भन्नुभएको छ । कर्मचारीतन्त्रमा रहेका सम्पूर्ण व्यक्ति ज्ञान, अनुभव र क्षमताको दृष्टिकोणले सक्षम रहेपनि त्यसको सदुपयोग हुन नसकेको उहाँको भनाइ थियो ।
प्रधानमन्त्री भन्नुभयो, “कर्मचारीको क्षमताको जसरी जति उपयोग हुनुपर्ने थियो, त्यसबाट सेवा र विकासलाई उपलब्धिमूलक बनाउन सकिएको छैन । यसमा कुनै न कुनै ‘ग्याप’ छ, त्यसलाई कसरी हल गर्ने भन्नेमा आश्वयक छलफल गर्नुपर्छ ।” नेपालको कर्मचारीतन्त्र संसारकै अब्बल, व्यावसायिक, दक्ष र अनुभवी रहेको जनाउँदै उहाँले परिणाम दिने सन्दर्भमा राजनीतिक नेतृत्व र कर्मचारीबीचमा कहीँ न कहीँ तादाम्यता नमिलेको बताउनुभएको छ ।
आफू र मातहत निकायको नियमित कामलाई नतिजासँग कसरी जोड्ने भनेर सरकार लागिपरेको उल्लेख गर्दै प्रधानमन्त्रीले आफू प्रधानमन्त्री बन्नेबित्तिकै सचिवलाई दिएको निर्देशनको परिणाम निराशाजनक जस्तो देखिएको बताउनुभयो । “कहीँ न कहीँ समस्या छ । समाधान गर्ने उपाय पनि खोज्नुपर्ने हुन्छ”, उहाँले भन्नुभएको छ ।
प्रधानमन्त्री दाहालले गतवर्ष सरकार प्रमुखका हैसियतमा आफूले अर्थतन्त्रका समस्या सका लागि सामान्य सुधारका उपायमार्फत मात्रै नहुने देखेपछि गम्भीर ढङ्गले सोचेर तत्काल सुधारतर्फ जान जरुरी रहेकाले सुधारको प्रक्रिया थालनी गरिएको स्मरण गर्नुभयो । “आउने दिनमा अर्थतन्त्रमा गुणात्मक सुधार ल्याउन उपायको खोजी गर्नुपर्नेछ”, ।”
सरकारी सेवा प्रवाहमा सुधारको महसुस नभएसम्म जनता सन्तुष्ट नहुने उल्लेख गर्दै उहाँले सेवा र विकासको आधारमा जनताले सरकारप्रति सन्तुष्टि वा असन्तुष्टि जाहेर गर्ने भएकाले यसमा राजनीतिक चलखेल हुन नहुने धारणा राख्नुभयो ।