काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले दीक्षान्त समारोहमा धरै विद्यार्थीलाई उपस्थित गराएर विश्वकिर्तिमान कायम गरेको छ ।
त्रिभुवन विश्वविद्यालयको ४९ औँ दीक्षान्त समारोहमा आज विभिन्न सङ्काय र तहमा उपाधिप्राप्त १२ हजार चार सय १५ विद्यार्थी दीक्षित भएका छन् । अभिभावक सहित २६ हजार बढीको सहभागिता रहेको थियो ।
विश्वविद्यालयको दीक्षान्त समारोहमा भौतिक रुपमा उपस्थित सबैभन्दा धेरै संख्या भएको भन्दै अफिसियल वर्ल्ड रेकर्ड एसोसिएसन (ओडब्लुआर) ले त्रिभुवन विश्वविद्यालयलाई कीर्तिमानको प्रमाणपत्र दिएको छ ।
त्रिविले विश्वकीर्तिमान बनाउने दाबीसहित गिनिज बुक अफ वर्ल्ड रेकर्डको भगेनी संस्था ओडब्लुआर आजको समारोहमा उपस्थित हुन निम्तो पठाएको थियो ।
सोहीअनुसार ओडब्लुआर का प्रतिनिधिले कार्यक्रम स्थलमा नै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वकीर्तिमानको प्रमाणपत्र हस्तान्तरण गर्नु भएको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानमन्त्री एवं कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाट विद्यार्थीहरु दीक्षित भएका हुन् ।
त्रिविको ६१औँ ग्रेसलिष्टमा परेका ७४ हजार सात सय ४९ विद्यार्थीमध्ये यसपटक १२ हजार चार सय १५ जनाले दीक्षान्त समारोहमा सहभागिताका लागि आवेदन दिएका थिए ।
निवेदन दिएकामध्ये स्नातक तहतर्फ आठ हजार ९८ जना, स्नातकोत्तर तहतर्फ चार हजार एक सय चार, एमफिलतर्फ ४४ तथा विद्यावारिधितर्फ एक सय १२ विद्यार्थी दीक्षित भएका हुन् ।
विश्वविद्यालयका कार्यवाहक उपकुलपति प्रा डा शिवलाल भुसालले विसं २०७९ असार १ देखि २०८० जेठ मसान्तसम्म उत्तीर्ण गरेका विद्यार्थी दीक्षान्त समारोहमा सहभागी हुन पाउने व्यवस्था गरिएको जानकारी दिनुभयो ।
गत वर्ष १० हजार तीन सय विद्यार्थी दीक्षान्त समारोहमा सहभागी भएका थिए । उहाँले उत्तीर्ण विद्यार्थीलाई स्वदेशमै रोजगारीसहित टिकाउने चुनौती देखिएको स्थितिमा विश्वविद्यालयले शिक्षासँगै उद्यमशीलता अपनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।