काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचनका लागि सबै १९ जना उम्मेदवारको नाम तय गरेको छ। महासचिव शंकर पोखरलले विज्ञप्ति जारी गरी उमेदवार छानिएको जानकारी गराएका हुन्।
एमालेले सत्ता गठबन्धनसँग सहकार्य गर्ने विषयमा कुरा नमिलेपछि एक्लै १९ वटै पदमा उमेदवार तय गरेको हो ।
एमालेले कोशीमा अन्यबाट भोजपुरका पर्शुराम अधिकारी र महिलाबाट सुनसरीकी रुक्मिणी चौधरीलाई उम्मेदवार बनाउने भएको छ ।
त्यसैगरी, एमालेले बागमतीबाट अन्यमा चितवनका त्रिलोचन निर्मल पौडेल, महिलामा दोलखाकी रोचकुमारी चौलागाईं, अल्पसंख्यक र अपंगता भएकाबाट काठमाडौंका विवेक देवकोटा र दलिततर्फ धादिङका ध्रुवराज विश्वकर्माको नाम सार्वजनिक गरेको छ ।
मधेशमा अन्यबाट महोत्तरीका अर्जुनकुमार सिंह र महिलातर्फ पर्साकी उषादेवी थरुनीलाई एमालेले उम्मेदवार बनाउने भएको छ । त्यसैगरी, रष्ट्रियसभामा एमालेका उम्मेदवारहरुमा गण्डकीमा अन्यबाट स्याङ्जाका चक्रबहादुर पराजुली, महिलातर्फ गोरखाकी सम्झना देवकोटा, र अल्पसंख्यक तथा अपांगताबाट मुस्ताङका हेमचन्द्र शेरचन रहेका छन् ।
लुम्बिनीमा अन्यबाट पाल्पाका झपेन्द्रबहादुर घर्ती र महिलातर्फ दाङकी तुलसाकुमारी केसीलाई एमालेले उम्मेदवार बनाउने भएको छ । उता, कर्णालीबाट महिलातर्फ हुम्लाकी विमलाकुमारी शाही, अन्यतर्फ मुगुका डिल्लीप्रसाद भट्ट र दलिततर्फ दैलेखका हिक्मत विकलाई एमालेले राष्ट्रियसभामा उम्मेदवार बनाउने भएको हो ।
यस्तै, सुदूरपश्चिममा अन्यबाट कञ्चनपुरका ईश्वरीप्रसाद खरेल र अल्पसंख्यक तथा अपांगतातर्फ कैलालीका रामचन्द्र जोशी र महिलातर्फ कैलालीकी सावित्रादेवी घिमिरे रहेका छन् ।