काठमाडौं । पहिलो संस्करणको काठमाडौं मेयर कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा विभागीय टिम नेपाल पुलिस क्लबले बागमती प्रदेशलाई जितका लागि ७३ रनको सामान्य लक्ष्य दिएको छ ।
मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पुलिस २५ ओभर २ बलमा अलआउट हुँदै ७२ रनमा समेटियो ।
पुलिसका लागि कप्तान मन्जित श्रेष्ठले सर्वाधिक १५ रन बनाए । यस्तै सुनिल धमला, अनिल शाह र दिलिप नाथले समान १०/१० रन बनाए ।
पुलिसलाई सस्तैमा समेट्न बागमतीका आरियो पौडेलले ४ विकेट लिए । नन्दन यादवले ३ तथा सोनु देवकोटाले १ विकेट लिए ।
मैदान ओसिलो भएको कारण ढिला सुरु हुँदा पुलिस र बागमतीबीचको खेल ३८ ओभरमा घटाईएको छ ।
आज दुबै टिम जित निकाल्दै प्रतियोगितामा सुखद सुरुवात गर्ने लक्ष्यमा रहेका छन् ।
प्रतियोगितामा आयोजक टिम काठमाडौं मेयर-११ सहित त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब, नेपाल पुलिस क्लब र बागमती प्रदेशले खेल्ने छन् ।
राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टिमले उपाधिको लागि खेल्ने छन् ।
प्रतियोगिताको विजेताले ५ लाख र उपविजेता टिमले ३ लाख पाउने छन् ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५० हजार प्राप्त गर्नेछ । उत्कृष्ट ब्याट्सम्यान र बलरले २५/२५ हजार पाउने छन् ।