दाङ – यही माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा लुम्बिनी प्रदेशबाट पाँच राजनीतिक दलका ६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । लुम्बिनीमा अन्य र महिला कलस्टरका दुई पदका लागि निर्वाचन हुदै छ । सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसले महिला कलस्टरमा गुल्मीकी बिष्णुकुमारी साप्कोटालाई उम्मेदवार बनाएको छ । गठबन्धनबाटै नेकपा माओवादी केन्द्रले अन्य तर्फ रोल्पाका झक्कुप्रसाद सुवेदीलाई उम्मेदवार बनाएको छ । सत्ता गठबन्धन भित्र रहेको जनमत पार्टीको समेत यस प्रदेशमा उम्मेवारी कायमै राखेको छ ।
यस्तै नेकपा (एमाले)ले अन्य कलस्टरतर्फ पाल्पाका झपेन्द्र बहादुर घर्ती क्षेत्री, महिलातर्फ दाङकी तुलसा कुमारी केसीलाई उम्मेदवार बनाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट अन्यमा उम्मेदवारी दिनुभएका रुपन्देहीका निरञ्जन कुमार थापाले उम्मेदवारी फिर्ता लिनु भएको छ । राप्रपाले महिला कलस्टरमा कपिलवस्तुकी विजया लक्ष्मी सिंहलाई उम्मेदवार बनाएको छ । उहाँको उम्मेदवारी भने कायम छ । जनमत पार्टीको तर्फबाट अन्य कलस्टरमा नवलपरासीका बाल गोविन्द चौधरी चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।
कांग्रेसकी उम्मेदवार साप्कोटा कांग्रेस प्रदेश समिति सदस्य हुनुहुन्छ । माओवादीबाट उम्मेदवार बन्नु भएका सुवेदी २०६४ सालको संविधानसभा चुनावमा एमालेका तत्कालीन महासचिव माधवकुमार नेपाललाई काठमाडौं २ बाट पराजित गरेर चर्चामा आउनु भएको थियो । एमालेले उम्मेदवार बनाएका घर्ती पार्टीका केन्द्रीय सल्लाहकार परिषद् सदस्य हुनुहुन्छ । उहाँ पाल्पाको पूर्व जिविस सभापति समेत भइसक्नु भएको छ । एमालेले महिला कलस्टरमा उम्मेदवारी दिनुभएकी केसी अनेमसंघ केन्द्रीय सदस्य तथा एमाले लुम्बिनी प्रदेश सचिवालय सदस्य हुनुहुन्छ । सत्ता गठबन्धनका उम्मेदवाहरु चुनावी प्रचार प्रसारका लागि जिल्ला दौडमा निस्किसकेका छन् । यता एमाले पनि गठबन्धन भित्र असन्तुष्ट रहेका दल र पक्षहरुको मत पाउने अपेक्षमा सहित त्यस्ता मतदाताहरुसँगको भेटघाट र मतमाग्ने कार्यलाई अघि बढाएको छ ।
२ पदका लागि पाँच राजनीतिक दलका ६ उम्मेदवार चुनावी मैदानमा रहिरहँदा मतभारको विश्लेषण गर्दा सत्तारुढ दलका उम्मेदवारलाई चुनावी परिणाम आफ्नो पक्षमा पार्न सहज हुने देखिएको छ । सत्ता गठबन्धनमा रहेको जनमतले आफ्नो उम्मेदवारी कामय राखिरहँदा पनि त्यसले कुनै प्रभाव नपर्ने देखिएको छ ।
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि लुम्बिनी प्रदेशमा प्रदेशसभाका ८७ र स्थानीय तहका दुई सय १८ मतदाता रहेका छन् । प्रदेशसभातर्फ चार हजार छ सय ११ र स्थानीय तहतर्फ चार हजार एक सय ४२ गरि कुल आठ हजार सात सय ५३ मतभार रहेको छ । प्रदेशसभाको सबैभन्दा ठूलो दलको रुपमा रहेको नेकपा एमाले प्रदेशसभाका २९ र स्थानीय तहतर्फ प्रमुख र उपप्रमुख गरि ६७ मतदाता छन् । कुल मतभार दुई हजार आठ सय १० रहेको छ । २७ प्रदेशसभा सदस्य र ९२ स्थानीय तहका प्रमुख र उपप्रमुख रहेको कांग्रेसको मतभार तीन हजार एक सय ७९ रहेको छ ।
यस्तै माओवादी केन्द्रका प्रदेशसभा सदस्य ११ र स्थानीय तहका प्रमुख तथा उपप्रमुख ४० गरी एक हजार तीन सय ३४ मतभार रहेको छ । राप्रपाको चार जना प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुख तीन गरी दुई सय ६९ मतभार रहेको छ । चार जना मात्रै प्रदेश सभा सदस्य रहेको नागरिक उन्मुक्ती पार्टीको दुई सय १२, जनता समाजवादी पार्टीको प्रदेश सभा सदस्य तीन र स्थानीय तहको प्रमुख तथा उपप्रमुख छ गरी दुई सय ७३, लोकतान्त्रीक समाजवादी पार्टीको प्रदेश सभा सदस्य तीन र स्थानीय तहको प्रमुख तथा उपप्रमुख चार गरी दुई सय ५३ मतभार छ ।
तीन जना मात्रै प्रदेश सभा सदस्य रहेको जनमत पार्टीको मतभार एक सय ५९, एक जना मात्रै प्रदेश सभा सदस्य रहेको एकिकृत समाजवादीको मतभार ५३, राष्ट्रिय जनमोर्चाको प्रदेश सभा सदस्य एक र स्थानीय तहको प्रमुख तथा उपप्रमुख चार जना गरी एक सय २९ मतभार रहेको छ । जनता प्रगशिल पार्टीको स्थानीय तहमा मात्रै दुई गरी ३८ मतभार रहेको छ । स्वतन्त्र तर्फ प्रदेश सभा सदस्य तर्फ एक जनाको मतभार ५३ रहेको छ ।
लुम्बिनी प्रदेशमा कुल आठ हजार सात सय ५३ मतभार रहेकामा सत्ता गठबन्धनमा रहेका कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनमोर्चा, नागरिक उन्मुक्ती पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रीक समाजवादी पार्टीको मतभार जोड्दा पाँच हजार चार सय ४२ पुग्छ । बाँकी एमालेसँग दुई हजार आठ सय १०, राप्रपासँग दुई सय ६९ र जनमत पार्टी संग एक सय ५९ मतभार छ ।