काठमाडौं- आर्थिक वर्ष २०८१/०८२ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता आज संघीय संसदको बैठकमा पेस हुँदैछ ।
प्रतिनिधि सभाको आजको बैठकमा अर्थमन्त्री डा प्रकशशरण महतले आगामी आर्थिक वर्षका लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल गरियोस् भनी प्रस्ताव पेस गर्ने संघीय संसद सचिवालयले जनाएको छ ।
प्रतिनिधि सभाको बैठक ११ बजे बस्दैछ । आज प्रस्तुत हुने प्रि-बजेट प्रस्तावमाथि फागुन २१ देखि सांसदहरूले दलीय आधारमा छलफल गर्ने कार्यसूची रहेको सभामुख देवराज घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिनुभयो ।
प्रि-बजेट छलफलका लागि हाललाई फागुन २१, २२, २३ र ३० गतेको दिन निर्धारण गरिएको छ । छलफल एक साता चल्ने निर्णय कार्यव्यवस्था समितिको बैठकले गरिसकेको सभामुखको सचिवालयले जनाएको छ ।
संसद्मा लामो छलफल हुने तर त्यसका सुझाव बजेटमा समावेश नहुने यसअघिको परम्परा हटाउन सरकारले अध्यादेशमार्फत् बजेटको समयतालिका परिमार्जन गरेको थियो ।
नयाँ व्यवस्थाअनुसार बजेटको सिद्धान्त तथा प्राथमिकता सरकारले फागुनभित्रै संसद्मा पेस गर्नुपर्नेछ । त्यसपछि संसद्ले चैत १५ भित्रै सरकारलाई सुझाव पेस गर्नुपर्ने व्यवस्था पनि गरिएको छ ।
यसअघि विनियोजन विधेयक प्रस्तुत हुनुभन्दा १५ दिनअघि मात्र सरकारको बजेट तथा कार्यक्रमका सिद्धान्त तथा प्राथमिकता संघीय संसद्मा पेस गर्ने व्यवस्था थियो ।
आजको बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको विधायन सम्बन्धी विधेयकका सम्बन्धमा राष्ट्रिय सभाको सन्देशसहितको विधेयक टेबुल गरिने कार्यसूची पनि रहेको छ ।
यसैगरी राष्ट्रिय सभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयकमाथि बिचार गरियोस् भनी प्रस्ताव पेस गर्ने कार्यसूची पनि रहेको संघीय संसद सचिवालयले जनाएको छ ।