कञ्चनपुर- कञ्चनपुरमा संस्कृति जोगाउने उद्देश्यले पर्खालहरुमा पेन्टिङ गरिएको छ । नेपाल आर्टिस्ट संघले महेन्द्रनगर बजारका पर्खालमा सुदूरपश्चिमका संस्कृति झल्किने पेन्टिङ गरेको हो ।
अरनिको दिवसको अवसरमा सुरु गरिएको पेन्टिङमा मौलिक पहिरनमा थारू महिला, विभिन्न किसिमका नृत्यमा रहेका महिला, छलिया नृत्य, हुडकेली नृत्यलगायतका चित्र कोरिएका छन् । यसले सुदूरपश्चिमको कला संस्कृतिलाई झल्काउनुको साथै यसको संरक्षणमा समेत टेवा पुग्ने चित्रकार बताउछन् ।
पेन्टिङमा कञ्चनपुरका विभिन्न स्थानका २२ जना कलाकार खटिएका छन् । उनीहरुले जिल्ला प्रशासन रोड छेउका पर्खालमा मौलिक संस्कृति झल्किने चित्रहरु कोरेका हुन् । यसले एकातिर महेन्द्रगर क्षेत्रमा सुन्तरता थपिएको छ भने अर्कोतर्फ कला संस्कृतिको जर्गेनामा टेवा पुगेको स्थानीयको भनाई छ ।
कञ्चनपुरमा हाल २५ जना युवा पेन्टिङ पेशामा छन् । पछिल्लो समय प्रविधिको विकासले घट्दो काम र तालिमको अभावका कारण यो पेशामा नयाँ पुस्ताको आकर्षण पनि घट्दै गएको उनीहरु बताउछन् ।